सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव–‘बजेट अर्थतन्त्रमा विश्वास पुनःस्थापित गर्ने हुनुपर्छ’

काठमाडौं । पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।

बैठकमा पूर्व अर्थमन्त्री वर्षमान पुनले ९० को दशकमा उदार अर्थतन्त्रले भएका विकास र प्रगतिलाई आत्मसात गर्नुपर्ने बताउँदै देखिएका विकृतिलाई आगामी बजेटमा सुधार गर्नुपर्ने बताए ।

उनले विगतमा अभ्यास गरिएका उदार अर्थनीति र बजार अर्थतन्त्रकै वरपरबाट अहिलेका आवश्यकताहरू पूरा गर्न नसक्ने निष्कर्षका साथ तीन खम्बे अर्थनीति अपनाएको बताउँदै अहिलेको समयमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्ने जिकिर गरे ।

उनले कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्न सरकारलाई सुझाव दिए ।

उनले भने, ‘आगामी आर्थिक वर्षमा गुणात्मक रूपले अर्थतन्त्रको क्षेत्रमा सुधार गर्नुपर्नेछ । त्यसमा एउटा कुरा चाहीँ हामी ९० को दशकले उदार अर्थतन्त्रले जे विकास भयो, जे प्रगति भयो, यसलाई हामी राम्रा कुराको आत्मसात गर्नुपर्छ । त्यसका केही सीमाहरू देखिएको छ, जुन विकृतिको रूपमा देखिएको छ । त्यो कुरालाई हामीले अबको बजेटमा सुधार गर्नुपर्छ । निरन्तर विगतमा अभ्यास गरिएका उदार अर्थ नीति र बजार अर्थतन्त्रकै वरिपरिबाट अहिलेका आवश्यकताहरू पूरा गर्न सक्दैनौँ भनेर तीन खम्बे अर्थनीति अपनाएका हौँ । हामीले अहिलेको दुनियाँमा अन्तर निर्भर अर्थतन्त्रमा जानुपर्छ । हाम्रा प्रतिस्पर्धी क्षेत्रहरूमा टेकेर अगाडी बढ्नुपर्ने हुन्छ । त्यसको नेतृत्व निजी क्षेत्रले गर्छ, त्यो हाम्रो अर्थनीति हो । हाम्रो रूपान्तरित क्षेत्र कृषि, जलस्रोत, पर्यटन, उद्योग र आइटी हुन्छ । केही क्षेत्रहरूमा हामी प्रतिस्पर्धा पनि हुन्छौँ ।’

बैठकमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेट जनताको भरोसा जित्ने किसिमको हुनुपर्नेमा जोड दिए ।

उनले निजी क्षेत्रलाई गतिशील बनाउनको लागि अध्यादेशमार्फत केही कानुनहरूको संशोधन गरेको भन्दै त्यसले मात्रै पर्याप्त नहुने जिकिर गरे ।

उनले निजी क्षेत्रको आत्मबल बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए । पूर्व अर्थमन्त्री कार्कीले अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न नसके जतिसुकै राम्रो बजेट ल्याए पनि कार्यान्वयनयोग्य नहुने बताउँदै सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्ने धारणा राखे ।

उनले भने, ‘अब बन्ने बजेट जनताको भरोसा जित्ने किसिमको बजेट बन्नुपर्छ । निजी क्षेत्रलाई गतिशील बनाउनको निम्ति र उनीहरूको आत्मबल अभिवृद्धि गर्नको निमित्त केही कानुनहरूको हामीले अध्यादेशमार्फत संशोधन गरेका छौँ । त्यतिले मात्रै पर्याप्त छैन । अहिलेको अर्थतन्त्रको गतिलाई गतिशील बनाउनको निमित्त निजी क्षेत्रको आत्मबल कसरी अगाडी बढाउन सकिन्छ ? भन्ने कुरा लक्षित यसपालिको बजेट हुनुपर्छ । अर्थतन्त्रमा विश्वास पुनस्र्थापित गर्न सकेनौँ भने हामीले जतिसुकै राम्रो बजेट ल्याए पनि त्यो बजेट कार्यान्वयनयोग्य हुन सक्दैन । त्यसैले सन्तुलित, उत्पादनमुखी, रोजगारी अभिवृद्धि गर्ने बजेट आउनुपर्छ ।’

उनले आगामी बजेट जनताको आकाङ्क्क्षालाई पूरा गर्न र विकास निर्माणलाई तीव्र गतिका साथ अगाडी बढाउने खालको हुनुपर्ने समेत बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =