यस्तो छ ‘भूठान’को ट्रेलर, फरक अवतारमा हरिवंश (भिडिओ)

काठमाडौं । चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो ।
तीन मिनेट लामो ट्रेलरले सामाजिक कथावस्तुमा आधारित रहेर सिनेमा बनेको देखाएको छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास ट्रेलरमा देख्न सकिन्छ । जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस सिनेमाले भन्ने संकेत गरेको छ ।
पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले भन्ने संकेत ट्रेलरले गरेको छ । परिवारमा धर्म संस्कारलाई लिएर भएको विवादले पर्ने प्रभाव पनि ट्रेलरले देखाएको छ । अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । जहाँ हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ । उनको बेजोड अभिनय र चोटिला संवादले ट्रेलर निकै मन छुने बनेको छ ।
दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् । हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । चलचित्र वैशाख १२ गते रिलिज हुँदैछ ।








