खबर दिनभर : होलीको उल्लासदेखी नेपाल युगाण्डासंग पराजितसम्म

हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो होली पर्व
फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइएको छ ।
हिमाली र पहाडी जिल्लामा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन फागु पूर्णिमा पर्व मनाइन्छ । तराईका जिल्लामा भने भोलिपल्ट यो पर्व मनाउने चलन छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बिहीबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय अनुशासित बन्दै गएको छ ।
आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै पर्व मनाएका छन् । फागुन शुक्ल अष्टमीका दिन त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँडिखेलमा लगी जलाउने चलन छ ।
उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताका साथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु भएको थियो । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् ।
निजलाई ब्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग आयुर्वेद प्रवद्र्धन शाखाका प्रमुख डा वंशदीप शर्मा खरेलले बताए ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । आज हिमाली र पहाडी गरी ५६ जिल्लामा सार्वजनिक बिदा दिइएको थियो । शुक्रबार तराइका २१ जिल्लामा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
यस पर्वका अवसरमा आज राजधानीको टुँडिखेल, खुलामञ्च, वसन्तपुर, रामशाहपथजस्ता स्थानमा हजारौँ मानिस जम्मा भएर फागु पूर्णिमा पर्व मनाएका छन् । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ ।
यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सी जस्ता नसालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउने जस्ता विकृति पनि कम हुँदै गएको छ । समग्रमा राजधानीलगायत पहाडी र हिमाली जिल्लामा फागु अर्थात् होली अनुशासित बन्दै गएको छ ।
होली पर्वले सबै जाति, भाषा र संस्कृतिलाई जोड्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले होली पर्वलाई रङहरूको मात्र नभई विविधता, एकता र राष्ट्रिय सद्भावको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले चाडपर्वहरूले समुदायबीचको आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै नेपालीहरूलाई फागु पूर्णिमाको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार नेपालमा विभिन्न जातजाति र धर्मावलम्बीका मौलिक परम्परा तथा सांस्कृतिक चाडपर्वहरू रहेका छन्, जसले समाजलाई नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । हिमाली तथा पहाडी क्षेत्रमा आज र तराई(मधेशमा भोलि मनाइने होली पर्वले नेपाली समाजको बहुसांस्कृतिक सौन्दर्य झल्काउने उनले उल्लेख गरे ।
‘रङहरूको पर्वका रूपमा स्थापित होली विविध जाति, भाषा, भूगोल र संस्कृतिको समायोजनको प्रतीक हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचान हो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले हरेक समुदायका मौलिक परम्परा, भाषा तथा संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै होलीजस्तो चाडपर्वहरूले आपसी सद्भावलाई अझ बलियो बनाउने बताए । साथै, फरक जाति र समुदायबीच आपसी सम्मान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने अवसरको रूपमा होली पर्वलाई लिनुपर्ने उनको धारणा थियो ।
यस अवसरमा, प्रधानमन्त्री ओलीले नेपाल भित्र र बाहिर रहेका सबै नेपालीहरूलाई पुनः हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुई जना पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ६६ वर्षीय रामदेव सदा रहेका छन् । उनीहरूलाई यही फागुन २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
योसँगै उक्त घटनामा हालसम्म पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ । मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडा सदस्य नथुनी साहसहित आठजना पक्राउ परेका थिए ।
गत माघ २७ गते राति शौच गर्न निस्केकी सदा सामूहिक बलात्कारमा परेकी थिइन् । माघ २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । माघ ३० गते साँझ रिङ्कु आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
गाउँपालिका अध्यक्ष गुप्तालाई अदालतले तोक्यो सजाय
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा सजाय तोकिएको छ ।
बिहीबार जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दोषी ठहर गरेको थियो ।
धोबी भने २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अदालतले रामा गुप्ता र जितेन्द्र पासवानलाई भने सफाइ दिएको थियो ।
भक्तपुरमा स्कर्पियो अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते, एक जनाको अवस्था गम्भीर
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटना भएको छ ।
बिहीबार तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । प्रहरी नायव उपरीक्षक०डीएसपी० ढुण्डिराज न्यौपानेका अनुसार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
उनका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार गुण्डुतर्फ जाने क्रममा मोडमा अनियन्त्रित भएर बीएए ०८३४ नम्बरको स्कर्पियो गाडी पल्टिएको थियो । त्यसक्रममा गाडीमा सवार ८ जना घाइते भएका थिए ।
घाइते हुनेहरुमा भक्तपुर कटुञ्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षीय कमल अछामी, सुबोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोख्रेल, ३५ वर्षीय विवेक बस्नेत, २७ वर्षीया रुपा पन्त र आशिष अछामी छन् ।
इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या
उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टिनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ ।
मन्त्रालयले पीडितहरूमध्ये एकलाई ५८ वर्षीया फैजा इब्राहिम अबु घालीको रूपमा पहिचान गरेको छ । अन्य दुई पीडितहरूको पहिचान खुलाएको छैन । उनीहरूलाई बिहान इजरायली सेनाले गोली हानी मारेको बताएको छ ।
ओली सरकारलाई अल्मलिएर बस्ने छुट छैन : उर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको बताएका छन् । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको बताए ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै बिहीबार उनले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए । खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् ।
‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौँ, अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ,’ उनले भने । मन्त्री खड्काले सङ्खुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने बताए ।
धपाउन खोज्दा हात्तीले कुल्चेर वलिरामको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिका(२ बलातीमा गए राति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो ।
हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय वलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताएका छन् । हात्तीले खेतबारीमा लगाएको गहुँवाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाएका छन् ।
बर्दिया निकुञ्ज नजिक थारुको घर छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित भएको ठाकुरबाबा नपा(२ का वडा अध्यक्ष कमल चपाइले बताए छ । स्थानीयले वन्यजन्तुको आक्रमणपछि पूर्व पश्चिम राजमार्ग बन्द गराएको उनले जनाए।
महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता : नेपाल युगान्डासंग ४० रनले पराजित
महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत युगान्डाविरुद्धको बिहीबार भएको खेलमा नेपाल पराजित भएको छ । नेपाल युगाण्डासंग ४० रनले पराजित भएको हो ।
२० ओभरमा युगाण्डाले दिएको ९१ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल १७ ओभर १ बलमा ५१ रनमा समेटियो ।
कविता जोशीले सर्वाधिक १२ रन बनाइन् भने इन्दु बर्माले ११ रन बनाइन् । पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् । युगाण्डाका इमाकुलेट नाकिसुयीले ४ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । इरेने मुटनीले ३ ओभरमा १० रन दिएर ३ विकेट लिइन् । जानेत माबाजी र कोन्सी लेटले १९१ विकेट लिए ।
त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाउँदै ९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ रन बनाइन् । इस्थर इलोकुले २२ रन बनाइन् । स्टेफानी नाम्पिना १३ रनमा नटआउट रहिन् ।
नेपालका लागि रिया शर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । पुजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीले १/१ विकेट लिए ।
युगान्डाको एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो ।
प्रधानमन्त्री कप पुरुष क्रिकेट : एपीएफ क्लब दुई विकेटले विजयी
यहाँको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपिएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको छ ।
बिहीबार भएको खेलमा कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपिएफले मधेश प्रदेशलाई पराजित गरेको हो । मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपिएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए । सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दबाबमा परेको एपिएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए ।
मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् ।
दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।








