विकल्प राजनीतिमा होइन कर्मचारीतन्त्रमा आवश्यक छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्नेकुरामा वैचारिक अन्योल देखिएको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको बताए । उनले कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे । उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरू पुरानै रहेकाले उनीहरूको बुद्धि विवेकले काम नगरेको आरोप लगाए ।

उनले सत्तामा पुगेका हरेक नेताहरूलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे । अबको विकल्प राजनीतिमा नभई कर्मचारीतन्त्रमा चाहिएको उनको भनाइ छ ।

उनले भने ‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्यौलता छ । पहिलो कुरा प्रस्टै छ कि विकासको मोडालिटी के हो त ? बजेट खर्च कसरी गर्ने ? सही गर्नेले सही गर्दैन कसरी खर्च गर्ने ? सम्भवै छैन । मैले प्रधानमन्त्री जीहरू शेरबहादुर र प्रचण्ड जीलाई भेटेको थिएँ टेबुल टेबुलको शासन छ यहाँ । तपाईँहरू शासन गर्नुस् न भनेको थिएँ उहाँहरू शासन गर्नु हुन्न । प्रधानमन्त्रीले गरेपनि एउटा टेबुलको शासन गर्नुहुन्छ । अरु सयौँ टेबुलहरू छन् । मुख्य कुरा राज्य पुनःसंरचनाको कुरा थियो, त्यतिबेला नै आग्रह वा पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ । हाम्रा राज्य सत्ताका कतिपय अङ्गहरूलाई हामीले यथास्थितिमा राख्यौ र अनि पोलिटिकल नेताहरूले गाइड गरेनन् कि उनको गाइडमा चले कुरा यही हो । म वा अर्को । नेताहरू कसले चलायो पुरानो ब्युरोकेसीले चलायो । उनीहरुले न भिजन ल्याए न बुद्धि विवेक ल्यायो । समस्या त्यसैमा छ । विकल्प त्यसमा चाहिएको छ ।’

उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए । वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरूले दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =