राजा वीरेन्द्र र युवराज दीपेन्द्रको नाश भएको दिन नै राजतन्त्र सकिएको हो : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् ।
उनले वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरुले ठूलो गल्ती गरेको उनको टिप्पणी छ । मंगलवार काठमाडौंमा हुलाक टिकटहरुमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भइरहेको राजालाई दरबारबाटै मारिएको उनको आरोप छ । उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको उहाँको टिप्पणी छ । अब राजालाई बोकेर मुलुकको विकास नहुने बताए ।
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै भएको टिप्पणी गरे । उनले भने,‘जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो । राजतन्त्र त्यही दिन सकिएको थियो । सकियो नि त । भइरहेको राजा मारियो, त्यसपछि हुने युवराज नै मारियो भनेपछि राजा सकियो । त्यो दरबारले सकेको हो । जनताले सकेको हो र ? त्यो बेला फेरि राजा बनाएर नेपालका नेताले अझ ठूलो गल्ती गरे । सापको बच्चा पाले, शेरको बच्चा पाले । नभएको राजा, हुँदै नहुने मान्छेलाई राजा बनाइदिए । सबै खाइदियो । जनताले आन्दोलन गरे, जनतासँग हारेर भाग्यो । अब हामीले बुझ्नुपर्छ । राजालाई बोकेर मुलुकको विकास हुँदैन । जस्तो जन्मिए पनि राजाको कोखमा जन्मिएकाले तीन करोड नेपाली भन्दा राम्रो हुन्छ भन्ने सिद्धान्त राम्रो होइन । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै हो ।’
उनले राष्ट्रवादीले भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीको फोटो ल्याउने कसरी गर्छ भन्दै प्रश्न गरे ।








