खबर दिनभर : पूर्वराजाविरुद्ध गणतन्त्रवादीहरू एकठाउँमा, मन्त्रीको आडमा स्काउटका निर्देशकमाथि भएन छानविन

जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँ, हामी आफैँसँग विचार छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन् ।
सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरूले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए । उनले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको समेत बताए ।
उनले दरबार हत्याकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै बीभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने बताए ।
प्रधानमन्त्री ओलीले भने ‘हामी एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ । हामी आफैँसँग विचार छ, आफैँसँग नेता छन् । हामी यसको दृष्टान्त दिनसक्छौं । हामी आफैँले गरेका छौं । त्यसमा केही भयो भने केपी ओलीले मान्छे घुसायो भन्नुहुन्छ, त्यो जुलुस नै मैले गराइदेको हो, भयो । हामी आफ्नै कुरामा छौं । यस्ता फाल्तु, असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धति विरोधी, प्रणाली विरोधी कुरामा हामी लाग्नु हुँदैन । दरबार हत्याकाण्ड हामीले सम्झेका छौं । यो बीभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलापहरू यस्तै हुन्छन् । यसमा धेरै नजाऊँ, छोडिदिऊँ ।’
आफूहरू देश बनाउने आफ्नै अभियानमा रहेको उनको भनाइ छ ।
राजाको पक्षमा कुनै माहोल छैन : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा कुनै माहोल नदेखेको बताएका छन् । उनले देशमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्रको पक्षमा माहोल नै नदेखेको बताए ।
सभापति देउवाले हिजो काठमाडौंमा राजावादीहरूले गरेको प्रदर्शनले केही फरक नपार्ने बताए ।
‘राजाको पक्षमा कुनै माहोल देखेको छैन । हिजो काठमाडौंमा केही भएको छैन’ सभापति देउवाले भने ।
सभापति देउवाले पूर्वराजालाई भारतले नउचालेको बताए । उनले कसैले उचालेर उचालिने कुरै नभएको बताए । ‘कसैले उचालेर उचालिने कुरै छैन’ उनले भने ।
प्रचण्डलाई प्रश्न : राजावादीहरुलाई काउण्टर दिन लाग्नुभएको हो ?
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् ।
सोमवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
राजावादीहरुको प्रदर्शनले मन, मुटु हल्लिएको हो ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’ अध्यक्ष दाहालले यसको जिम्मवारी सरकारले लिनुपर्ने पनि बताए । उनले सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताए । उनले राजावादीहरुको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरु सल्लाह गरिरहेको जवाफ दिए ।
उनले भने, ‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले रु यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ । जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरुले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’
अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरुले लिएको जिकिर गरे ।
पूर्वराजाबारे माधव नेपाल भन्छन् – इतिहासको रथ पछाडि फर्किन सक्दैन
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरु अस्वीकार्य रहेको बताएका छन् ।
सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे ।
आइतवार पोखराको एक हप्ताको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरुको उल्लेख्य उपस्थिति थियो । पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरुले पदाधिकार र सचिवालय बैठक समेत बसेका छन् ।
साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् । सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरुबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए ।
उनले भने,‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन । इतिहासले बताइसकेको छ । २४० वर्षको इतिहासले बताइसकेको छ । फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छाँै भने हामी सँच्चिनुपर्छ ।’
अध्यक्ष नेपालले जनताको हित र कल्याणको शासन आवश्यक भएको बताए । उनले नेताहरुले गल्ती गरेको भए सँच्चिन जरुरी रहेको बताए ।
सरकारको आम्दानीभन्दा खर्च बढी
सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । आन्तरिक राजस्व सङ्कलनभन्दा खर्च बढी देखिए पनि सरकारी खातामा भने रु साढे तीन खर्ब हाराहारी मौज्दात देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सामेबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले सात महिनामा रु सात खर्ब ५४ अर्ब ८५ करोड खर्च गरेको छ ।
जसमध्ये चालु खर्च रु पाँच खर्ब २२ अर्ब ६३ करोड, पुँजीगत खर्च रु ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च रु एक खर्ब ६३ अर्ब ८१ करोड रहेको छ ।
यही अवधिमा सरकारको कुल राजस्व परिचालन भने रु छ खर्ब ४२ अर्ब ८५ करोड मात्रै छ । यो प्रदेश तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत गरेर हो । जसमध्ये कर राजस्व रु पाँच खर्ब ६५ अर्ब ६४ करोड र गैर कर राजस्व रु ७७ अर्ब २१ करोड रहेको छ ।
यसरी सरकारले उठाएको आन्तरिक राजस्वभन्दा खर्च बढी देखिए पनि गत माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा रु तीन खर्ब ५० अर्ब सात करोड नगद मौज्दात रहेको छ ।
यो राष्ट्र बैंकमा रहेका तीनवटै तहका सरकारको खातामा रहेको रकम हो । गत असार मसान्तसम्ममा सरकारी खातामा रु ८३ अर्ब ९९ करोड मौज्दात रहेको थियो ।
चालु आवको सात महिनामा प्रदेश सरकारको कूल खर्च रु ५१ अर्ब ९० करोड र स्रोत परिचालन रु एक खर्ब एक अर्ब ८९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु ८० अर्ब ९४ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु २० अर्ब ९५ करोड रहेको छ ।
केन्द्रीय बैंकका अनुसार पछिल्लो सात महिनामा विस्तृत मुद्राप्रदाय चार प्रतिशतभन्दा बढीले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय सात प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा भने गत माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १० दशमलव एक प्रतिशतले बढेको छ ।
गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा ‘समाजवादी मोर्चा’ को जोड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत पार्टी अबद्ध ‘समाजवादी मोर्चा’ ले गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
सिहंदरबारमा सोमबार बसेको मोर्चाको बैठकले राजसंस्थाबाट मुलुक र जनताको हित हुन नसक्ने भन्दै जनतामा छाएको निरासाबाट राजसंस्थावादीले फाइदा उठाउन खोजेको ठहर गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायत नेताहरू सहभागिता बैठकले भोलि फेरि बैठक बसी पछिल्लो राजनीतिक गतिविधिबारे धारणा सार्वजनिक गर्ने जनाइएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सरकारले गरेका गतिविधिका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको जिकिर गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले राजनीतिक दलहरूको लामो सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन गणतन्त्रवादीहरू सङ्गठित हुनुपर्नेमा जोड दिए ।
नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का नेता गंगा नारायण श्रेष्ठले देश अफ्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए।
जनमत पार्टीद्वारा नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न कार्यदल गठन
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सो पार्टीको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न अब्दुल खान, डा.शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
सङ्गठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसङ्गठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कार्यकारिणी सदस्य सरिता श्री ज्ञवालीले जानकारी दिए।
यसैगरी बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरेको छ । मुलुकमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सङ्गठनलाई तयार राख्ने निर्णय भएको उनले बताए।
यही फागुन २५ र २६ गते महोत्तरीको बर्दिवासमा भएको बैठकले आगामी रणनीति विषयमा छलफल गरी सडक, सदन र सरकार तीनै मोर्चाका लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ ।
बैठकले तराई–मधेसको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नदीनालाको अवैध उल्खनन् रोक्न विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरेको छ ।
समग्र देशको विकास र अबको निकास ‘नौलो गणतन्त्र’ हुने भनेर त्यसका लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमको आयोजना गरेर माहोल निर्माण गर्ने निर्णय भएको कार्यकारिणी सदस्य ज्ञवालीले जानकारी दिए ।
हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्ने विषयलाई जोडदार रूपले उठाउने, तराई–मधेस फास्ट–ट्र्याक सम्पन्न गर्न तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा पैरवी गर्ने सो पार्टीको निर्णय छ ।
पार्टी अध्यक्ष डा।सीके राउतको अध्यक्षतामा बसेको बैठकले सदस्यता र सङ्गठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमका साथै सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ ।
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा सोमबार भारत प्रस्थान गरेकी छन् ।
मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।
मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा सहभागी हुने कार्यक्रम रहेको छ ।
राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।
पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा फोहोर गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । महानगरले आइतबार नै राप्रपालाई जरिवानाको पत्र पठाएको थियो ।
महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगर कार्यालय, कमलादी पुगेर जरिवाना बुझाएका हुन् ।
पूर्वराजाको स्वागत कार्यक्रम सफल भयो : राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रम सफल भएको भन्दै आमनागरिकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा स्वागतमा विशाल उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता प्रमाणित भएको पार्टीको निष्कर्ष रहेको उल्लेख छ ।
यस्तै, पार्टीले सञ्चालन गर्ने आन्दोलनलगायत विविध विषयमा छलफल गर्न आगामी चैत ३ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
बैठकले आमराजनीतिक दललाई निषेधको राजनीति छोडेर नयाँ समझदारीमा आउन पनि आह्वान गरेको छ ।
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा सोमबार पनि सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
स्काउटका निर्देशक भट्टराईमाथि दश गम्भीर आरोप : छानविन गरी कारबाही माग
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईमाथि छानविन गरी कारबाही माग गरिएको छ ।
स्काउटका निर्देशक भट्टराईले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी नियम विपरितका कार्यहरु गरी चरम आर्थिक अनियमितता तथा नियम विपरितका विभिन्न एकल निर्णयहरु गरी संस्थामाथि आर्थिक व्ययभार थपिएको भन्दै छानविन गरी कारबाही माग गरिएको हो ।
नेपाल स्काउट शुद्धीकरण अभियानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्देशक भट्टराईले संस्थालाई हानी नोक्सानी हुने किसिमका गतिविधि गरेको भन्दै उनीमाथि लागेका विभिन्न दश वटा गम्भीर आरोपहरुको यथाशीघ्र छानविन गरी कारबाही माग गरेको हो ।
यसअघि देवदुत अधिकारीको संयोजकत्वमा गठित अभियानले खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको थियो ।
१) विश्व स्काउट सम्मेलन इजिप्टमा सहभागि हुँदा गरेको खर्चको विवरण यथार्थ नभएको आवश्यक सख्या भन्दा बढि सामाग्री खरिद गरेको भनि बिल मात्र पेश गरी भुक्तानी लिएको पाईएको हुँदा त्यस सम्बन्धमा छानविन गर्नुपर्ने ।
२) निर्देशकले कार्यालय प्रमुखको हैसियतमा सवारी साधन सुविधा अन्तर्गत ड्राईभर, मोबिल २ इंन्धन सुविधा नेपाल स्काउटको विद्यमान ऐन कानून विपरित विद्युतिय सवारी साधन प्रयोग गरी मासिक उल्लेखित सुविधा एकमुष्ठ रुपमा तलबमा नै थप गरी लिने गरेको हुँदा त्यस सम्बन्धमा छानबिन गरी कारबाही हुनुपर्ने ।
३) २०८० फाल्गुन १३ गते बसेको राष्ट्रिय परिषद बैठकमा नेपाल स्काउट नियमानी २०७७, संशोधन गर्न ३ वटा विषय मात्र राखी छलफल गर्न तीन महले बनाई परिषद सदस्यहरुलाई बांडी छलफल गरिएकोमा सो विषयभन्दा धेरै विषयहरु समावेश गरी नेपाल स्काउटको नवनियुक्त प्रमुख आयुक्तलाई समेत जानकारी नदिई नेपाल स्काउट नियमावली, २०७७ ९२०८०० संशोधन गरेको कर्मचारी सेवा नियमावली, २०५२ मा व्यवस्था गरेको कर्मचारी निर्देशकको व्यवस्था राष्ट्रिय परिषदमा छलफल नै नगरी आफ्नो लागि नियमावलीको नियम ३१ मा लगेर निर्देशकको व्यवस्था थप गरेको ।
४) २०८० फाल्गुल १३ गते नयाँ कार्यकारी समिति गठन गर्दा राष्ट्रिय परिषदका ५ जना सदस्यहरु सम्मिलित सिफारिस समितिले प्रमुख आयुक्त लगायत अन्य आयुक्तहरुलाई दस्तखत गरी सिफारिस गरेको पत्र बमोजिम प्रमुख आयुक्त लगायत आयुक्तहरुको नियुक्ति भएकोमा सो सिफारिस पत्र आफुसंग छैन भनी लुकाएर संस्थाको कार्यालय प्रमुखले गैरजिम्मेवार कार्य गरेकोले त्यस सम्बन्धमा छानविन गरी कारवाही हुनुपर्ने ।
५) नेपाल स्काउट राष्ट्रिय कार्यकारी समिति र राष्ट्रिय परिषदमा समेत कुनै छलफल नभएको विषयमा कार्यदलमा प्रतिनिधि तोकिदिने बारेको पत्र प्रमुख आयुक्तलाई समेत जानकारी नदिई युवा तथा खेलकुद मन्त्रालयमा नेपाल स्काउट नियमावली संशोधन मस्यौदा कार्यदल गठन गर्न आफू खुशी प्रतिनिधिहरुको नाम उल्लेख गरी मिति २०८१/०८र०५ च.न. १९४ मार्फत प्रेषित गरेको हुँदा संस्थालाई दीर्घकालिन असर पर्ने गरी अनुचित कार्य गरेको हुँदा त्यस सम्बन्धमा छानविन गर्नुपर्ने ।
६) मिति २०८१/१०/०४ देखि हालसम्म लामो समय विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित भएको र बिदा स्वीकृत नै नभएको अवस्थामा कनिष्ठ कर्मचारीलाई नियम विपरित निमित्त दिएको हुँदा त्यस सम्बन्धमा छानविन गर्नुपर्ने ।
७) कार्यालयको प्रमुख जस्तो जिम्मेवारी कर्मचारीले गत मिति २०८१ श्रावण महिनामा विदेश जाँदा पनि विदा स्वीकृती नलिई अनुशासनहिन कार्य गरेको हुँदा त्यस सम्बन्धमा सत्य तथ्य छानविन हुनुपर्ने ।
८) निर्देशकले कार्यालय भन्दा बाहिर विभिन्न स्टार होटलहरु तथा रेष्टुरेन्टहरुमा गई आफर कार्यालयसंग असम्बन्धित व्यक्तिहरुसँग बसी खाने गरेको र त्यसको विलहरु कार्यालयमा पेश गरी सचिवालयको कर्मचारी मार्फत सोधभर्ना लिने गरेका हुँदा त्यस सम्बन्धमा छानबिन गरी सोधभर्ना उपर गर्नुपर्ने ।
९) संस्थाको खरिद विक्रिको कार्य गर्दा अनुचित लाभ लिने गरी नातागोता आफन्तको कम्पनी तथा फर्मलाई सस्थाको काम दिई सो मार्फत बिल भुक्तानी गरी सस्थालाई हानि नोक्सानी गरी भ्रष्टाचारजन्य कार्य गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन गरी कारवाही गर्नुपर्ने ।
१०) विगतका वर्षहरुमा नेपाल स्काउटको तालीम तथा कार्यक्रमहरु आफनै भवन तथा स्थानहरुमा सञ्बालन गर्दै आएकोमा हाल आएर नेपाल स्काउटको सिद्धान्त विपरित हरेक कार्यक्रम क्रियाकलापहरु सञ्चालन गर्दा आफ्नै तालीम केन्द्र भवनहरुमा सञ्चालन नगरी मितव्ययिता नअपनाई पाँच तारे होटलहरुमा सञ्चालन गरी अनावश्यक खर्च गरेर नेपाल स्काउटलाई आर्थिक व्ययभार थप गरेको ।
राष्ट्रिय प्रधान कार्यालयका निर्देशक भट्टराईद्वारा कार्यक्षेत्रमा गरिने दुर्व्यवहार तथा यौन दुर्व्यवहारसंग सम्बन्धीत विषय उपर छानविन गरिनुपर्ने लगायका माग सहित यसअघि समेत खेलकुदमन्त्रीलाई शुद्धीकरण अभियानले ज्ञापनपत्र बुझाइएको थियो ।
तर, मन्त्री चौधरीकै संरक्षण पाएका भट्टराईमाथि प्रश्नहरु उठ्दा समेत छानविन हुन सकेको छैन ।
नेपाल हङकङसंग २ रनले पराजित
वुमन्स डे महिला टी २० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गतको खेलमा नेपाल हङकङसंग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल हङकङसंग २ रनले पराजित हुन पुगेको हो । हङकङले जितका लागि नेपाल समक्ष १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन मात्र बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ३२ रन बनाएपनि टोलीलाई जिताउन सकिनन् ।
त्यस्तै पूजा महतोले १९ रन बनाइन् । विन्दु रावलले १४ तथा साना प्रवीणले १० रनको योगदान दिइन् । हङकङका लागि मारिको हिलले दुई तथा सियु मिवाई र चान का यिङले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय रनको योगफल तयार पारेको थियो ।
हङकङका लागि नताशा मिल्सले ३५, मारिको हिल्सले २१ तथा यश्मिन दासवनीले अविजित ११ रन बनाइन् ।नेपालका लागि कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान दुईरदुई तथा पूजा महतो र रचनाकुमारी चौधरीले समान एकरएक विकेट लिए ।
यससँगै नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको छ । नेपालले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नामिबियासँग छ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको जित निकालेको थियो ।
लगातार दोस्रो जित निकालेको हङकङको तीन खेलबाट चार अङ्क भएको छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको हार बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।
जारी श्रृंखलामा युगाण्डा,नामिविया र हङकङको सहभागि छन् ।








