चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’ हुने

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामी चैत १ गते देखि ४ गतेसम्म ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले उक्त जानकारी गराएको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष रामबहादुर तामाङले बताए ।

उनले २६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल रहने जानकारी दिए । उनका अनुसार मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर ९गुलाब, जरबेरा र कार्नेशन० स्वच्छ प्रतिस्पर्धा गराइने छ ।

सोको मूल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने आयोजकले बताएको छ । उनले पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरूको सहभागिता रहने बताए ।

पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुग्ने आयोजकको विश्वास छ । पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरू सबैका लागि मेला वृहत् साझा मञ्च हुने हामीले विश्वास लिएको बताए ।

घर आँगन बगैँचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सीप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरूलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकको छ । मेला अवधिभर ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा एक करोडसम्मको व्यावसायिक कारोबार हुने आयोजकको विश्वास छ ।

मेला आयोजनाकै अवसरमा चैत ३ गते रक्तदान कार्यक्रम समेत आयोजना गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =