महिलालाई आत्मनिर्भर बनाउन हामीले गर्नुपर्ने काम धेरै छ : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनीहरूलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिएको छ ।

शनिवार एक विज्ञप्ति जारी गर्दै रास्वपाले उक्त शुभकामना दिएको हो ।

रास्वपाले यो दिवस महिलाहरूको हक, अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर गरिएको संघर्षलाई सम्मान गर्दै थप उपलब्धिका लागि संकल्प गर्ने अवसर भएको बताएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ ‘नेपालले पनि महिला अधिकारका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। राज्यका हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता संवैधानिक रूपले नै सुनिश्चित गरिनुले मुद्दा मुखरित मात्र भएको छैन उनीहरूको सशक्तीकरण र नेतृत्व विकासमा उल्लेख्य प्रगति भएको छ । तर, महिला सशक्तीकरणको अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल तथा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने लगायत क्षेत्रमा हामीले गर्नुपर्ने काम धेरै छ ।’

रास्वपाले हिंसाजन्य क्रियाकलाप निर्मूल तथा महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने लगायत क्षेत्रमा धेरै काम गर्नुपर्ने रहेको जनाएको छ ।

बोक्सी, छाउपडी, बालविवाह, दाइजो तथा तिलक जस्ता समाजमा कायम रहेका कुप्रथाले महिला, किशोरी तथा बालिकामाथि भइरहेका शारीरिक तथा मानसिक हिंसाका घटना हाम्रो समाजका कलंक भएको बताइएको छ । यस्ता दण्डनीय क्रियाकलाप निर्मूल गर्दै महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा आव्हान गरेको छ ।

महिला अधिकारको आन्दोलनमा पुरुषको सशक्त सहयोग र सहकार्य उत्तिकै आवश्यक रहेकातर्फ पनि सो समुदायलाई सचेत हुन आग्रह गरेको छ ।

श्रमिक महिलाहरूको हकहित संरक्षण, समान पारिश्रमिक, सुरक्षित कार्यस्थल र सामाजिक सुरक्षा लगायतका विषयमा थप सुधारका लागि यो दिवसको अवसरमा सामूहिक संकल्प र सहकार्यका लागि आव्हान गर्दै त्यसतर्फ पर्याप्त कानुनी प्रबन्ध गर्न पनि रास्वपाले सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + twelve =