राष्ट्रको समृद्धिका लागि सबैले एकताबद्ध भएर सहकार्य गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकताबद्ध भएर सहकार्य गर्नुपर्ने बताएका छन् ।

सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नैतिक, मूल्य, मान्यता र सदाचार सभ्य समाजको मेरुदण्ड भएको बताए । उनले समृद्धि र दिगो विकासका लागि वित्तीय सफलताका साथै नैतिकता, समानता र सेवाभावको कार्य गर्नुपर्ने बताए । भावी पुस्तालाई सकारात्मक परिवर्तनका लागि परिलक्षित संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।

उनले भने ‘नैतिक मूल्य, मान्यता, सदाचार र योग कुनैपनि सभ्य समाजका मेरुदण्ड हुन् । स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य छन् । जब कुनै समाजले नैतिकता, अनुशासन र इमान्दारीतालाई सम्मान गर्छ त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ । जसको स्मृतिमा यो पुरस्कार स्थापना गरिएका छन् उहाँहरुले देखाउनुभएको मार्गले आज कयौँलाई प्रेरित गरेको छ । समाजलाई समुन्नत बनाउने जिम्मेवारी हाम्रो साझा दायित्व हो । केबल वित्तीय सफलताले मात्रै पर्याप्त हुँदैन । हामीले समाज, राष्ट्र र भावी पुस्ताका लागि सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । नैतिकता, समानता र सेवाभावका साथ अघि बढे मात्र देशको समृद्धि र दिगो विकास सम्भव हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको मार्ग पनि यही हो । यस मार्गमा हामी सबैले एकताबद्ध भएर सहकार्य गर्न आवश्यक छ ।’

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक डा। विद्यानाथ उपाध्याय भट्ट र पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई समर्पण गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =