लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरूको पुनःविचार जरुरी : सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि भएका प्रयासहरूको पुनः विचार आवश्यक रहेको बताएकी छन् ।
शनिवारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले लागुऔषबिरुद्धको महाअभियान नेपाल प्रहरी, स्थानीय सरकार र सरकारको मात्रै नभई सम्पूर्ण नागरिकको भएको बताइन् । उनले लागुऔषध विरुद्धको दिवस हरेक वर्ष मनाइने गरेको भएपनि नियन्त्रण नहुनुले नियन्त्रणका लागि भएका प्रयासहरूको पुनः विचार आवश्यक रहेको देखिएको बताइन् ।
उपप्रमुख डंगोलले भनिन् ‘यो महाअभियान नेपाल प्रहरीको मात्र, स्थानीय सरकार, सरकारको मात्र होइन । यो हरेक व्यक्तिको अभियान हुनुपर्दछ । हामीले लागु औषध विरुद्धका दिवस पनि मनाउने गर्दछौँ । त्यसमा लागुऔषधको प्रयोग र कारोबारलाई बन्द गरौँ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आइरहेका छौँ । यति मनाउँदा मनाउँदै पनि संख्या घट्नुपर्ने ठाउँमा बढिरहेको छ । त्यसको अर्थ अहिले हामीले जुन अप्रोचमा जुन बाटोबाट हामीले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ । ती प्रयासहरूलाई फेरि एक पटक पुनः विचार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’
उपप्रमुख डंगोलले लागुऔषध नियन्त्रणको अभियानमा सबैसँग मिलेर काम गर्न महानगरपालिका तयार रहेको बताइन् ।








