मैतीदेवीबाट कांग्रेस कार्यकर्ता दधिराम सिटौला पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता विक्रम भन्ने दधिराम सिटौला पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिटौलालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
सिटौलालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाइएको जिल्ला प्रहरी परिसर स्रोतले जनाएको छ । झापा चन्द्रगढी घर भएका दधिराम राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाका भाइ पर्छन् । उनलाई मैतीदेवीबाट प्रहरीले पक्राउ गरेको हो । गत माघ अन्तिम साता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा तोडफोड गर्न संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनद्वारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरेको नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेका प्रहरीमा जाहेरी परेको छ । उनीहरूविरुद्ध कालीमाटी प्रहरी बृत्तमा उजुरी दर्ता भएकाले अनुसन्धानका लाागि त्यहीँ पठाइएको हो । नेपाली खेलकुद जगत विभिन्न खेलाडी, प्रशिक्षक, कर्मचारीका साथै संघसंस्थाले निन्दा गर्दै कारबाही माग गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्मा माघ २५ गते शुक्रबार अपराह्न सदस्य सचिव घिसिङको कार्यकक्षभित्र नेपाल उसु महासंघका पूर्वपदाधिकारीहरू लगायतले ज्ञापनपत्र बुझाउने क्रममा विवाद भएको थियो । विवाद बढेसँगै ज्ञापनपत्र बुझाउन गएकाहरूले घिसिङको कार्यकक्षमा रहेका टेबललगायत अन्य सामानहरू तोडफोड गरेको आरोप छ । ओलम्पियन संघ र खेलाडीले यस्ता गतिविधिले नेपाली खेलकुदलाई नै बदनाम गराएको उल्लेख गर्दै कारबाही गर्न माग गरेका छन् ।








