उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश


कास्की । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखराको आयोजनामा गत माघ २२ देखि सुरु भएको प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलको दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा पुगेको हो ।
ब्ल्याक बुल्सले यही फागुन ३ गते विभागीय नेपाल पुलिस क्लबसँग उपाधिका लागि खेल्नेछ । पोखरामा पहिलो पटक फुटबल खेल्न आएको ब्ल्याक बुल्सले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रीस्टारलाई पराजित गरेको हो ।
खेलको २५औँ मिनेटमा ब्ल्याक बुल्सले कुभोनचेक ओलिमोभको गोलमा अग्रता बनाएको थियो । खेलको ५८औँ मिनेटमा असिफबेक ओरिफजोनोभले डिबक्सबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ६३औँ मिनेटमा सात्तोरोभले थ्री स्टारका तीन डिफेण्डरलाई छक्काएर गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको ८७औँ मिनेटमा साइडजामोलले थप एक गोल गरेपछि थ्रीस्टार फराकिलो अन्तरले पराजित हुन पुग्यो । थ्रीस्टार क्लबले खेलमा केही गोल गर्ने मौका पाएको थियो । तर उसले खेलमा प्राप्त अवसरको सदुपयोग गर्न सकेन ।
प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने र उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउने आयोजकले जनाएको छ ।
