प्रचण्डलाई रघुजी पन्तको जवाफ : संसद कुण्ठा पोख्ने ठाउँ होइन

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा कुण्ठा पोखेको भन्दै संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ ?रु भन्दै प्रश्न गरे ।

उनले ६ वटा अध्यादेशमा २९ वटा कानुन संशोधनको प्रस्ताव अगाडि सारिएको तर ती संशोधन गरिएका दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताए ।

उनले भने ‘बढो रमाइलो दृश्य हाम्रो संसदमा देखिँदा अत्यधिक खुसी लागेको छ । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरू र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूको बीचमा जुन खालको र्याङठ्याङ आज मिलेको देखियो यो वास्तवमै रमाइलो छ । आज प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालको भाषण निकै ध्यानपूर्वक सुनेँ । उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । तर ६ वटा अध्यादेशमा २९ वटा कानुन संशोधनको प्रस्ताव अगाडि सारिएको छ । तर ती संशोधन गरिएका दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ, एउटा पनि उदाहरण प्रतिपक्ष दलको नेताले दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद होइन । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा भाषण सुनेर बस्ने देशवासीलाई यो प्रमुख प्रतिपक्ष दलको नेताले भनेको ठिक छ भन्ने होस् न ।’

सांसद पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरू र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूको बीचमा भएको र्याङठ्याङ रोचक रहेको टिप्पणी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *