खबर दिनभर : रवि लामिछाने फेरी हिरासतमा,पाँचौ खेलमा पनि हार्यो नेपाल

प्रधानमन्त्रीको निर्देशन – कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम शीघ्र अघि बढाउनुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका काका विषयमा बुधवार ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई शीघ्र अघि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा तीन सय दिनभित्र उक्त रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रंगशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।
प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन सपनि आग्रह गरे । बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भए देखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति चिन्ता प्रधानमन्त्री ओलीले व्यक्त गरेका हुन् ।
सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओली भनाइ थियो । उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्ववृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए ।
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालयमातहत रहेका सङ्घीय संसद भवन, धरहरा, सङ्घीय मन्त्रीहरुको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल,थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।
चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्द्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौपचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन् ।
उनले नेपाली चियाको उचित बजार प्रवर्द्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए ।
प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक रु छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया) मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्योगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए ।
ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।
रवि लामिछानेलाई हिरासतमा राख्न अदालतको आदेश
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले आजका लागि हिरासत पठाउने आदेश गरेको छ ।
थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासत पठाइएको हो । चितवन जिल्ला अदालतका स्रेस्तेदार विष्णु आचार्यका अनुसार थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । बुधवार बिहान आफैँ उपस्थित भएका लामिछानेको बयान सकिए लगत्तै थुनछेक बहस सुरू गरिएको थियो ।
वादीका तर्फबाट जिल्ला न्यायधिवक्ता रवि न्यौपाने, सहन्यायधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए । जाहेर वालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि निरन्तर सुनुवाइका लागि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको हो । बिहीबार १० बजे उपस्थित गराउने गरी जिम्मा लगाइएको छ ।
बहसमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले वकालत गर्ने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरू डा.नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, गोपीलाल देवकोटा, केदारराज पन्त, दीपकराज तिमिल्सेना र सञ्जय गोले गरी १० जनाले बहसका लागि वकालतनामा दर्ता गरेका छन् ।
न्यायाधीश दयाराम ढकालको इलाजासमा थुनछेक बहस सुरू भएको हो । विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालय चितवनले मङ्गलबार रविसहित १५ जनाविरूद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ । अदालतमा मुद्दा दर्ता भएसँगै लामिछाने चितवन आएका हुन् ।
दर्ता गरिएको मुद्दामा प्रतिवादीहरूमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन् ।
यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा रवि लामिछाने किटान गरिएको थिएन । मङ्गलबार दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचत सहित छ वटा संस्था रहेका हुन् ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए ।
मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जीवि राई भन्ने जितेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त बाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन माग दाबी गरिएको विश्वकर्माले जानकारी दिए । रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका वखत पुनःपुरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।
बचत कर्ताहरूलाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार नौ सय २८ दशमलब ७५ रहेको छ ।
व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असर फ अलि सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटी भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने माग दाबी छ ।
बिहीबारको संसद बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलले आगामी संसद बैठकमा पनि सभापति रवि लामिछानेको विषय उठान गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टी सचेतक निशा डाँगीले जानकारी दिइन् । उनले दलको बैठकमा तीन वटा एजेन्डाहरू रहेको र जसमा संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा छलफल गरेको बताइन् ।
उनले पार्टी सभापति रवि लामाछिनेका विषयमा संसदमा निरन्तर कुरा उठाउने दलले निर्णय गरेको पनि बताइन् ।
उनले भनिन् ‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौँ । संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयका थिए । अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा,सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गरौं । अध्यादेश अस्वीकारको सूचना संसदमा दर्ता गराएका छौं । त्यसमा बोल्ने सांसदहरू नाम टुंग्याएका छौं । विधेयक अध्ययन समितिलाई चलायमान बनाउने निर्णय गरेका छौं ।’
उनले संसदमा दर्ता भएको अध्यादेशबारे बोल्ने सांसदहरूको नाम समेत टुङ्गो लगाएको उल्लेख गरे ।
बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सहकारी ठगी मुद्धामा सहकारी पीडितको पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा अदालतमा बहसपछि बरिष्ठ अधिवक्ता त्रिपाठीमाथि यही माघ २ गते आक्रमण भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
दोलखाको तामाकोशी गाउँपालिका(१ का ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका(४ घर भएका ३२ वर्षीय महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका(४ घर भएकी ५५ वर्षीया सितल राई भनिने सीतादेवी राईविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरुले भने त्रिपाठीमाथि आफुहरुले आक्रमण नगरेको दावी गर्दै आएका छन् ।
‘अमला काण्ड’ भन्दै घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युव च्यानलमाथि काउन्सिलको कारबाही
झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरू समेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले बुधबार कारबाही गरेको छ ।
घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजनारअफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ ।
‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लङ्घन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ ।’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बिर तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९), ५(२)(२),५(४) र ५(१३), महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ को ५(८),(९), जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, २०७८ को ४(क,ख,ङ र झ) र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा (३) उल्लङ्घन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजना÷अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ ।
‘आरोप र शङ्काकै आधारमा आफैं अदालतझैं गरी अप्रमाणित विषयलाई दोषी करार गर्ने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला/जेष्ठ नागरिक/बालबालिकाको आत्मासम्मानमा आँच पुर्याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेप्सेमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले घटेर दुई हजार सात सय ११ दशमलव ४५ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर ९० हजार सात सय ५२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९५ करोड ८० लाख सात हजारको कारोबार भएको छ ।
आजको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र छ्याङदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेपाल रिइन्स्योरेन्क कम्पनी लिमिटेडको आज सबैभन्दा बढी ३३ करोड ७६ लाख ३९ हजारको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको आठ लाख नौ हजार एक सय ९० कित्ता शेयर किनबेच भएको छ । आजको कारोबार पछि कूल बजार पुँजीकरण ४४ खर्ब ९८ अर्ब ७१ करोड ५९ लाख बराबर पुगेको छ ।
ह्वात्तै बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार० सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
महिला क्रिकेट : नेदरल्याण्ड्ससँग नेपाल १० विकेटले पराजित
नेपाल त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो ।
जितका लागि नेपालले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १९ दशमलव चार ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।
नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले अविजित सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा अविजित ४८ रन जोडिन् ।
त्यसअघि नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ४५ रनको योगफल बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ६२ रन योगदान दिइन । उनले ५१ बलमा पाँच चौका प्रहार गर्दै ६२ रन जोडेकी हुन् ।
त्यस्तै कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडिन् । रुविना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी सात रनमा नटआउट रहिन् ।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए ।
नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । पाँच खेलमा छ अङ्कका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ भने पाँच खेलमा अङ्कविहीन नेपाल तालिकाको अन्तिममा छ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सिरिजमा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको सहभागिता रहेको छ । सबै टोली एकापसमा तीन खेल खेलेपछि तालिकाको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
नाइजेरियामा आगलागी हुँदा १७ जनाको मृत्यु
नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ ।
कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले राज्यको कौरा–नमोदा क्षेत्रमा रहेको सिकाइ केन्द्र मकरन्त मल्लम घलीमा विद्यार्थी सुतिरहेका बेला आगलागी हुँदा कम्तीमा १६ जना घाइते भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।
प्रत्यक्षदर्शीहरूले आगो तीन घण्टा भन्दा बढी समयसम्म चलेको र स्थानीय विद्यालयका अधिकारीहरूले सुरुमा उनीहरूले घटनाको समयमा करिब १०० विद्यार्थीलाई बाहिर निकालेको विश्वास गरे । तर, आगो निभिएपछि सबै विद्यार्थीलाई बाहिर निकाल्न नसकेको थाहा भयो ।
त्यहाँका बासिन्दा अब्दुलरासाक बेलो कौराले आफूलाई भित्र कोही बाँकी नरहेको भन्ने लागेको बताए । मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ ।








