खबर दिनभर : एचपिभी खोप अभियान सुरु,रविविरुद्ध चितवनमा मुद्धा दर्ता,लगातार हार व्यहोर्दै नेपाल

निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियानलाई सफल पार्न सबैको साझा प्रयास आवश्यक भएको बताएका छन् ।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आज आयोजित देशव्यापी अभियानको शुभारम्भ गर्दै उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन सम्बद्ध सबैको साझा प्रयास अपरिहार्य भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले मानव जातिको सुख र समृद्धि सरकारको लक्ष्य भएको बताउँदै नेपाली नागरिकलाई रोग र अभावबाट मुक्त गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

उनले कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीय उपचारको प्रबन्ध होस् भन्नेमा सरकार सचेत रहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निरोगी नेपालको केन्द्रविन्दुमा मानव जाति रहेकाले स्वच्छ र सन्तुलित खाना मात्र खान सुझाए । उनले सबैको साझा प्रयासबाट कोरोना महामारीलाई पनि परास्त गरिएकाले पाठेघरको मुखको क्यान्सर निर्मूल गर्न सकिने बताए ।

साथै पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप लगाउने अधिकारबाट तोकिएका समूहका कोही पनि किशोरीहरू वञ्चित नहुन् भन्ने प्रधानमन्त्रीले कामना गरे ।

आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने देशव्यापी अभियानमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई यो खोप लगाउने लक्ष्य छ ।

नेकपा माओवादी पार्टीमा जनताको आकर्षण बढ्यो : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् ।

बागलुङमा मंगलबार आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।

विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उनले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गरे ।

पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उनको जोड छ ।

माओवादीनै परिवर्तनको वाहक भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले माओवादी सरकारले गरेका सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचार विरोधका पक्षमा जनताको चासो रहेको हुँदा सङ्गठन निर्माणमा थोरै मेहनत गरे पार्टीलाई पहिलो बनाउन समस्या नहुने बताए ।

युवालाई खेलकुद र समाजसेवामा जोडेर कुलतबाट बचाऔँ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका छन् । पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८ औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् ।

मन्त्री लेखकले लागुऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए ।

“खेलकुदले मानिसलाई स्वस्थ्य, उच्च विचार, बुद्धिमान र अनुशासनमा राख्ने हुँदा खेलकुदमा लाग्न सबैलाई मेरो आग्रह छ । राजनीति गर्ने व्यक्तिलाई पनि खेलकुदमा सहभागी हुन प्रेरित गर्न आवश्यक छ । यसले कुलतबाट जोगिन र असल कार्य गर्न ऊर्जा प्राप्त हुन्छ”, उनको भनाइ थियो ।

पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए ।

क्लबले १८ वर्षदेखि निरन्तर यस्ता प्रतियोगिता गदै आएको छ ।

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा

संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डूयक अफ एडिनब्रा एडवार्ड र उनकी श्रीमती डचेस सोफी नेपाल भ्रमणका क्रममा मंगलबार यहाँ आइपुगेका छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै आगमनका क्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारीहरूले स्वागत गर्नुभएको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनीहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९ईसिमोड०, पोखरालगायत स्थानमा भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्धा दर्ता

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था रहेका हुन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए । मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र सङ्गठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो ।

सङ्गठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जीवि राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

यसअघि असोज ८ मा १७ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालयले जीवि राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरूङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पूरक अभियोग आज दर्ता गरिएको हो । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ ।

हाल जोहरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार ठगीको हकमा मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ विरूद्धको कसुरमा सोही ऐनको दफा ३ (ग) बमोजिम सजायको मागदाबी र सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३, १, २, ३ (क) र ५ को कसुरमा दफा ९ (क) र (ग) बमोजिम सजायको मागदाबी लिइएको छ । लामिछानेको हकमा ठगी मुद्दा दर्ता भएको छ तर बिगो दाबी गरिएको छैन ।

दर्ता हुन आएको अभियोगमा ३२ जना प्रतिवादी कायम गरी पाँच जनालाई अभियोगका साथ उपस्थित गराइएको छ । लामिछाने, रामबहादुर खनाल, छविलाल जोशी, कुमार रम्तेल र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङ अभियोगसहित उपस्थित भएका हुन् ।

लामिछानेको हकमा गोर्खा मिडिया नेटवर्कमा रू एक करोड ८० लाख रकम बराबरको शेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटर्वकको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा जीवि राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट रू एक करोड ग्लोबल आइएमईको खाताबाट रू तीन करोड ५० लाख जम्मा भएको उनले बताए ।

तीमध्येबाट लामिछानेको एकल दस्तखतबाट ८१४ वटा चेक काटेको देखिएको अभियोगमा उल्लेख छ । सोमार्फत रू ४८ करोड ५८ लाख २२ हजार २४६ र जीवि राई रविको संयुक्त दस्तखतबाट छ वटा चेकबाट रू ६० लाख १९ हजार भुक्तानी भएको बैंक स्टेटमेन्ट र चेक विवरणबाट पुष्टि गरिएको छ ।

गोर्खा मिडिया कम्पनीको बैंक खाताबाट चार वटा चेकबाट प्रतिवादी कायम हुन आएको लामिछानेको श्रीमती निकिता पौडेलको नाममा रू ३९ लाख ३८ हजार २५१ र गोरखा मुभिजको नाममा दुईवटा चेकमार्फत रू ८१ लाख २५ हजार भुक्तानी भएको छ ।

पूरक अभियोगमा लामिछानेको हकमा ठगी र सङ्गठित अपराधको दुवै अभियोग नलिई मुलुकी अपराध संहित २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ग बमोजिम सजाय हुने मागदाबी भएको छ ।

बेचन झाको मुद्धामा मिसिल झिकाउने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्धामा मिसिल झिकाउने आदेश गरेको छ । मंगलबार झाको मुद्धामा सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मिसिल झिकाउने आदेश गरेको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । झाको हकमा माघ ३ मा पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो ।

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ ।

पूर्व बन्दप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण, लगानीको वातावरण नबिथोल्न आग्रह

निजी क्षेत्रका प्रमुख तीन छाता संस्थाहरुले पाथीभरा क्षेत्रको पर्यटन विकास तथा प्रवर्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हड्तालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लामा भइरहेको बन्द हड्तालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवनसमेत अस्तव्यस्त भएको, सर्वसाधारणले सास्ती भोग्नुपरेको र यस्ता गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुने बताएका हुन् ।

‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । उद्योग, व्यापार, बैंकिङ, ऊर्जा, कृषि, पर्यटन, सञ्चारलगायत अन्य विभिन्न पूर्वाधार विकास तथा सेवा क्षेत्रमा निजी क्षेत्रको गरेको लगानीले देशको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर विकासका कार्य रोक्न भइरहेका पछिल्ला गतिविधिले नेपालमा लगानी गर्ने स्वदेशी तथा विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश प्रवाह गर्ने हुनाले सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा गम्भीर बन्न, विकास निर्माणको कार्यलाई सहज र निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्दछौं ।’

पर्यटनमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको र हजारौंलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथीभरा ९मक्कुम्लुङ० मा बन्ने पर्यटकीय पूर्वाधारले त्यहाँ जान चाहने वृद्धवृद्धा, अशक्त बालबालिकासहित अन्य यात्रुलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ ।

साथै, पूर्वाधार निर्माणले त्यहाँको धार्मिक सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्धन र कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवर्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र देशकै पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने निजी क्षेत्रले जनाएको छ ।

स्थानीय सरकार र स्थानीय बासिन्दा केबलकार बन्नुपर्छ भन्नेमा सहमत रहेको परिप्रेक्ष्यमा केवलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेपसहित निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद् मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा निजी क्षेत्रले लिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोधमात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बिथोलिने अवस्था सिर्जना हुनुका साथै लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

यस्तै उनीहरुले समस्याको समाधान वार्ताबाट गर्न सकिने र विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथीभरा ९मक्कुम्लुङ० केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई अपिल गरेका छन् ।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका कोशी र गण्डकी र कर्णाली प्रदेशका सभापतिरूले पनि आज छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस विषयमा महासंघ प्रदेश समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।

उनीहरुले कोभिड महामारीलगायतका कारण संकटमा परेको अर्थतन्त्रको विकास गरी पुरानै अवस्थामा ल्याउनका लागि नेपाल सरकार र निजी क्षेत्र लागि परिरहेको अवस्थामा विकासका लागि भइरहेका प्रयासमा अवरोध हट्नुपर्ने धारणा राखेका छन् ।

‘राज्यको नियम कानुन तथा प्रणालीले स्वीकृति तथा अनुमति प्रदान गरेर तथा स्थानीय नागरिकको भावना र चाहना बमोजिम नै निर्माणको काम सुरु गर्दैगर्दा उत्पन्न भएको बाह्य परिस्थितिले यो आयोजनालाई जे जसरी अवरोध उत्पन्न गर्न खोजिएको छ, यसबाट नेपालको आर्थिक विकासका लागि अत्यावश्यक स्वदेशी एवं विदेशी लगानीका क्षेत्रमा पक्कै पनि सकारात्मक सन्देश दिएको छैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै विज्ञप्तिमा देशका कैयौँ स्थानमा पर्यटन पूर्वाधारहरुको निर्माण गरी दसौँ हजार व्यक्तिलाई रोजगारी प्रदान गरिरहेको तथा राजस्वका माध्यमबाट मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याइरहेको देशको व्यावसायिक ग्रुपको अगुवाइमा निर्माण हुन लागेको केबलकार आयोजनाका विरुद्धमा जे–जस्ता क्रियाकलाप हाल देखिएका छन्, त्यसले पक्कै पनि देशमा लगानीको वातावरण बनाउने नभएर भत्काउने काम गरिरहेको उनीहरुको बुझाइ छ ।

नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन एचपिभी खोप अभियान : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताएका छन् ।

मङ्गलवार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताए । उनले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सुरुवात गरिएको दाबी गरे ।

उनले अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गर्ने बताए । उनले नेपालका धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मृत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरूले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उल्लेख गरे ।

उनले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क रहेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान अवस्थालाई न्यूनीकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम सुरु गरेको उल्लेख गरे । उनले एचपिभी खोप विश्वमा परीक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताए ।

उनले भने ‘यो खोपले मानिसहरूलाई कुनै पनि असर गर्दैन । परीक्षणबाट सफल भएको खोप हो । बिमारीलाई उपचार गर्ने दायित्व राज्यको हो । बिमारी बढ्दै गएको अवस्थामा क्षमता भन्दा बढी दायित्व वहन गर्न सजिलो हुँदैन । त्यसैले बिमारी हुन दिनको लागि खोपको व्यवस्था गरिएको हो । नेपालीलाई निरोगी कसरी बनाउन सकिन्छ । नयाँनयाँ समस्याहरू आइरहेका छन् । जलवायु परिवर्तनको प्रभाव बढेको छ । वातावरण परिवर्तनको प्रभाव बढेको छ । अखाद्य वस्तुको कारणले रोग बढ्ने स्थिति देखिएको छ । भिडभाड र कोलाहलले मानिसहरूलाई रोगी बनाउने अवस्था देखिएको छ । रोग शारीरिक र फिजिकल मात्रै हुँदैन । मानसिक पनि हुन्छ । मानसिक रोग बढ्ने अवस्था पनि देखिएको छ । बिमारी हुन नदिन कसरी सकिन्छ । नेपालीलाई निरोगी बनाउन सरकारले कस्ता अभियान चलाउन आवश्यक छ । एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वार्थ बनाउनको निम्ति सुरुवात गरिएको हो । हाम्रो भविष्य जुन अहिले कक्षा ६ देखि १० सम्मका पढ्दै हुनुहुन्छ । १० वर्षदेखि १४ वर्ष उमेर समूहको हुनुहुन्छ । आमाहरू,दिदीबहिनी र साथीहरू धेरैलाई पाठेघरको मुखको क्यान्सर भएर मुत्यु भयो । कतिपयले अहिले पनि समस्या भोगिरहनु भएको छ । भविष्यमा महिलाहरूले त्यस्तो अवस्था भोग्नु नपरोस् भनेर खोप सुरु गरिएको हो । अहिले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा चार जना पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क वास्तविकता हो । त्यसलाई न्यूनीकरण गर्दै हुन नदिनको निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि निरोधात्मक क्षेत्रमा काम सरकारले सुरु गरी सकेको छ ।’

उनले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताए । उनले कक्षा ६ देखि १० सम्मका सबै छात्राहरूलाई खोप पुर्याउन सबैले सहयोग आवश्यक रहेको बताए । उनले विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताए ।

उनले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई उपलब्ध गराउने बताए । उनले १० देखि १४ वर्ष उमेर समूहको संख्या करिब १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गरे । सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गरे ।

अब तीन दिनभित्रै सवारी चालक अनुमतिपत्र पाइने

यातायात व्यवस्था विभागले नागरिकहरुले आवश्यकताका आधारमा तत्कालै सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स० प्राप्त गर्ने गरी निर्देशिका निर्माण गरेको छ ।

सवारी चालक अनुमति पत्र अति आवश्यक परेका व्यक्तिले तत्काल पाउने गरी विभागले निर्देशिका बनाएसंगै नागरिकलाई सहजता हुने भएको छ ।

यसअघि विदेश जानेहरुका लागि मात्रै तत्काल लाइसेन्स उपलब्ध गराइने गरेको भएपनि अब भने नेपालमै बस्नेहरुले पनि आवश्यकताअनुसार लाइसेन्स पाउने भएका हुन् ।

लाइसेन्स आवश्यक भएको खुलाएर निवेदन दिनेले तीन दिनभित्रै स्मार्ट लाइसेन्स पाउने सक्ने गरी नयाँ निर्देशिका बनाइएको छ । उक्त व्यवस्था गर्न विभागले अति आवश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ जारी गरेको थियो ।

विभागमै उपस्थित भएर वा विभागको वेबसाइटमा गएर लाइसेन्स आवश्यक परेको कारण खुलाई नयाँ लाइसेन्स प्रिन्टको लागि आवेदन दिन सकिने विभागका निर्देशक गणेशमान सिंह राईले बताए ।

घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् ।

मंगलबार जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको नौ दशमलव ९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आठ दशमलव २५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको आठ दशमलव १९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आठ दशमलव १२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ०५ प्रतिशतले बढेको छ ।

साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ ।

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ६५ हजार नजिक

नेपाली बजारमा केही दिन स्थिर रहेको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९मगलबार० सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

ब्याटिङ नचल्दा नेपालको लगातार चौथो हार

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ । नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी सिरिजमा नेपालले लगातार चौथो खेल गुमाएको हो । नेपालले नेदरल्यान्ड्स र थाइल्यान्ड्सँग दुई–दूई पटक गरि लगातार चौथो हार बेहोरेको हो ।

जारी सिरिजमा नेपालको ब्याटिङ लाइन चल्न सकेको छैन् । सबै खेलमा ब्याटिङ नचल्दा नेपालले लगातार हार बेहोर्नु परेको हो ।

मंगलबारपनि नेपालको ब्याटिङ नचल्दा थाइल्यान्डसँग पराजित हुन पुग्यो । जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २६ रन जोडिन् । कविता जोशीले २४ रन थपिन् ।

पूजा महतोले १८ रनको योगदान दिइन् भने रोमा थापाले १९ रन जोडिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सम्झाना खड्काले ५ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्माले ३ रन मात्रै जोड्न सकिन् । रचना चौधरी २ रनमा नटआउट रहिन् ।

टपअडर ब्याटिङ चल्न नसक्दा नेपालले लय भेटाउन सकेको छैन् ।

थाइल्यान्डका लागि थिपाच्चा पुथावाङले सर्वाधिक ४ विकेट लिइन् । फन्निता मायाले २ विकेट झारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६ रन जोड्यो ।

एक समय संकटमा परेको थाइल्यान्डका लागि थिपाच्चा पुथावाङ र चनिदा सुथिरुङले शानदार पारि खेलिन् । थिपाच्चा पुथावाङ २६ र चनिदा सुथिरुङ २७ रनमा नटआउट रहिन् ।

ओपनर नट्टाय बुचथमले १० रन बनाइन् । अपिसरा सुवान्चोराथीले १७ रनको योगदान दिइन् ।

नन्नपत कोन्चारोएनकाइले १९ रन थपिन् । फन्निता मायाले १ रन जोडिन् । अन्य दुई ब्याटर शून्य रनमा आउट भए ।

नेपालका लागि मनीषा उपाध्यायले सर्वाधिक ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान १–१ विकेट लिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *