जनताको हितका लागि अध्यादेशमार्फत विधेयक ल्यायौँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मुलुकको आवश्यकताको आधारमा जनताको हितको निम्ति सरकारले अध्यादेशमार्फत विधेयक ल्याउनुपरेको बताएका छन् ।

नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री गुरूङले टेलिकमको आम्दानी वर्षेनी घट्दै गएको र निजी क्षेत्रबाट सञ्चालित कम्पनी अगाडि आइरहेको सन्दर्भमा टेलिकमले गहिरो गरी समीक्षा गर्नुपर्ने बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरूङले बढ्दो प्रविधिको प्रयोगलाई टेलिकमले अवलम्बन गर्दै सेवा विस्तार गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए । जनताप्रति उत्तरदायी बनाउनका लागि टेलिकममा कम्तीमा २५ प्रतिशत शेयर जनताको हुनुपर्ने समेत उनले बताए ।

“सुशासनसँग जोडिएको विषय इ–गभर्नेन्स हो, त्यसको लागि फोर–जी गाउँ–गाउँमा पुग्नुपर्‍यो, त्यसो गरेको खण्डमा यो क्षेत्रको विकास धेरै हुन्छ”, मन्त्री गुरूङले भने ।

उनले अहिले पनि ग्रामीण स्थानमा टेलिकमको टावरको समस्या भइरहेको बताउँदै गुणस्तरीय र प्रभावकारी सेवामा ध्यान दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए ।

बढी जनसङ्ख्या भएको मधेसका २२ वटा जिल्लामा अहिले पनि टेलिकमको उपस्थिति कमजोर रहेको जनाउँदै यो वर्ष मधेसमा पर्याप्त टेलिकमको पूर्वाधार विकास गरी अवरोधरहित सेवा–प्रवाह गर्न पनि मन्त्री गुरूङले निर्देशन दिए ।

उनले सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नका लागि सरकारले ‘सामाजिक मिडिया प्रयोग र नियमन गर्ने विधेयक’ संसद्मा दर्ता गरेको बताए ।

नेपाललाई ‘आइटी हब’ को रूपमा विकास गर्नका लागि सञ्चार, सूचना र प्रविधिसँग जोडिएका अन्य ऐनरकानुन निर्माण तथा संशोधन गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *