विवादपछि उदित नारायण भन्छन्- मेरो छवि यस्तो छैन कि म फ्यान्सलाई जबरजस्ती चुम्बन गरूँ

काठमाडौँ । बलिउड चर्चित गायक उदित नारायण झा अहिले चर्चामा आएका छन् । उनी एक कन्सर्टमा भएको कन्ट्रोवर्सीका कारण एकाएक चर्चामा आएका हुन् ।

अहिले सामाजिक सञ्जालमा उनको एक भिडिओ भाइरल भइरहेको छ ।

उक्त भिडियोमा उनले आफ्नो कन्सर्टमा आएकी एक महिला फ्यानलाई ओठमा चुम्बन गरेका छन् ।

सो भिडिओ बाहिरिएपछि सामाजिक सञ्जालमा अहिले उनको आलोचना भइरहेको छ ।

हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले आफ्नो बचाउ गरेका छन् । यसबारे उदितले भनेका छन् ‘फ्यानमा यति धेरै पागलपन छ । हामी यस्तो छैनौँ, हामी सभ्य छौं । केही मानिसहरूले यसलाई प्रोत्साहित गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन् । यस्तो कुरालाई उडाएर के गर्नु’ उनले भने ‘भिडमा धेरै मानिस थिए र हामीसँग अङ्गरक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न ।’

उनले भनेका छन् ‘मेरो परिवारको छवि यस्तो छ कि, जो कोहीले पनि विवाद होस् भन्ने चाहन्छ । मेरो छोरो आदित्य चुपचाप बस्छ, विवादमा आउँदैनन् । जब म मञ्चमा गाइरहेको हुन्छु, तब कयौँ मानिसहरूलाई महसुस हुनुपर्छ । फ्यान्स पागल हुन्छन् । फ्यान्स मलाई मन पराउँछन् । मलाई लाग्छ कि, उनीहरूलाई खुसी हुन दिनुपर्छ । नत्र हामी त्यस्तोखालको मान्छे होइनौँ । हामीले पनि उनीहरूलाई खुसी पार्नु पर्छ ।’

उनले आफू ४६ वर्षदेखि बलिउडमा रहेको बताउँदै आफ्नो छवि त्यस्तो नरहेको बताए ।

उनले भने ‘म ४६ वर्षदेखि बलिउडमा छु, मेरो छवि यस्तो छैन कि म फ्यान्सलाई जबरजस्ती चुम्बन गरूँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =