बँदेल पालनमा रमाइरहेका सिंगापुरे लाहुरे

काठमाडौं । तनहुँको व्यासका ४६ वर्षीय मानबहादुर गुरुङले २६ वर्ष सिंगापुरे लाहुरे भएर काम गरे । उनी २६ वर्ष सिंगापुरमा बसे । सिंगापुरे लाहुरेको रिटायर पछि उनी स्वदेश फर्किए ।
लाहुरेको पेन्सन आउने भएपछि उनी खुसीसाथ गाउँ फर्किए । मानबहादुर बाँकी जिन्दगी गाउँमै बिताउने सपना देखेर सिंगापुरबाट गाउँ आए । उनले सिंगापुर हुँदा नै गाउँ फर्किएर कृषि कर्म गर्ने योजना बनाइसकेका थिए ।
सिंगापुरे लाहुरे हुँदै देखेको सपना उनले गाउँ आउने बित्तिकै पुरा गर्नतिर लागे । जस अनुसार उनले बँदेल पालन गर्न थालेका छन् । अन्य काम भन्दा बँदेल पालनबाट राम्रो फाइदा लिन सकिने बुझेका उनले विगत ४ वर्षदेखि बँदेल पालन गरिरहेका छन् । बँदेल पालनका लागि उनले लाखौँ लगानी पनि गरिसकेका छन् ।
‘श्रीमतीको निधन पछि बँदेल नै मेरो साथी भएका छन् । आम्दानी पनि हुने र समय पनि बिताउन सजिलो भएको छ’ उनले भने, ‘बिहानदेखि रातिसम्मै यिनीहरूको स्याहार सुसारमा व्यस्त हुनुपर्छ ।’
विगत ४ वर्षदेखि बँदेलको फार्म सफा गर्ने, बँदेललाई दाना खुवाउने लगायत काममा उनको दैनिकी बितिरहेको छ । गुरुङ आफै बिहान सबेरैदेखि बेलुका अबरेसम्म आफ्नो फार्ममा व्यस्त रहन्छन् । उनी मात्रै होइन, उनले आफ्नो व्यवसायका लागि १ परिवारको जहानलाई मासिक ५० हजार दिएर रोजगारी दिएका छन् ।
अन्य व्यवसायमा भन्दा बँदेल पालनबाट राम्रो आम्दानी भइरहेको गुरुङ बताउँछन् । उनले बँदेलबाट मात्रै मासिक १ लाख ५० हजार बचत हुने बताए । बँदेलको माग बढ्दो रहेको बताउँदै उनले बँदेलका पाठा पाठी किन्नको लागि र मासुका लागि बँदेलको माग बढिरहेको सुनाए । उनले पाठा पाठी उत्पादन गरेर पनि आम्दानी गरिरहेका छन् ।
मासुका लागि वयस्क बङ्गुर पनि बिक्री गर्छन् । ‘बँदेलबाट राम्रो आम्दानी हुन्छ । अन्य व्यवसाय र किसानी काम भन्दा यसबाट धेरै फाइदा पनि भएको छ,’ उनले भने, ‘आम्दानी राम्रो छ, म यो व्यवसायबाट धेरै खुसी छु ।’
अहिले उनको फार्ममा १ सय २५ वटा बँदेलहरू छन् । बँदेललाई उनले ३ वर्गमा छुट्टाछुट्टै कोठामा राखेका छन् । ब्लक १ मा बँदेलका पाठा पाठीहरू, ब्लक २ मा पाठा पाठीहरूलाई हुर्काउने र ब्लक ३ मा बिक्री गर्न मिल्ने बँदेलहरू राख्ने गरेको उनले बताए ।
उनले बँदेलमा रोगको जोखिम नरहेको बताए । उनले अन्य पशुपालन भन्दा बँदेल पालनमा कम दुख रहेको सुनाए । ‘बँदेलमा रोगसँग लड्ने क्षमता बढी हुन्छ । बँदेलमा रोगहरू कम लाग्ने गर्छ र पाल्न पनि सजिलो हुन्छ । आज सम्म बँदेललाई रोग लागेर घाटा भने भएको छैन’ उनले भने ।
बङ्गुर पाल्दा भएको घाटा बँदेलबाट असुल
उसो त, लाहुरे गुरुङले सुरुमा बङ्गुर पालन गरेका थिए । तर, बङ्गुरबाट उनले सोचे जस्तो आम्दानी गर्न सकेनन् । त्यसपछि गुरुङले बँदेल पालन सुरु गरेका हुन् ।
बङ्गुरबाट भन्दा बँदेल पालनबाट धेरै फाइदा भएपछि उनले बँदेल पालन प्रति बढी लागब भएको बताए । ‘धेरै जसो मानिसहरूले बँदेल भन्दा बङ्गुर पाल्ने गर्छन् । अहिले बङ्गुर भन्दा बढी बँदेलको माग हुन्छ’ उनले भने ।
बँदेलको तुलनामा बङ्गुर छिटो विक्री हुने भए पनि पाल्न भने समस्या हुने उनले बताए । उनले बङ्गुर जताततै पाइने भए पनि बँदेल सीमित ठाउँमा पाइने भएकाले बँदेलको छुट्टै महत्त्व रहेको बताए । पछिल्लो समय बँदेलको माग बढिरहेका कारण बँदेल विक्री वितरण गर्न सहज भएको उनी बताउँछन् ।
‘म सँग बँदेल लिन धेरै मानिसहरु आउने गर्दछन् । कहिले कहीँ त उनीहरूलाई खालि हात पठाउनु पर्ने अवस्था पनि रहन्छ’ उनले भने, बँदेल पालनमा बढी लाभ भएको छ ।’
प्रेरणाका पात्र बनेका लाहुरे
सिंगापुरे लाहुरे गुरुङको कामबाट गाउँका धेरै युवाहरू प्रेरित भएका छन् । उनको काम र लगाव देखेर धेरै मानिसहरूले आफ्नो व्यवसाय सुरु गरिसकेका छन् । कतिपयले बँदेल फर्म नै खोलेर व्यवसाय गर्न थालिसकेको गुरुङ बताउँछन् ।
उनले आफ्नो कर्मबाट अरु मानिसलाई पनि प्रेरणा मिलेको देख्दा खुसी लाग्ने गरेको सुनाए । ‘मैले गरेको कामबाट प्रेरित भएर कतिपयहरूले त आफ्नो फार्म पनि खोलेका छन्,’ उनले खुसी हुँदै भने, ‘गाउँमै केही गर्छु भन्नेहरूको लागि म प्रेरणाको पात्र पनि बनेको छु ।’
कामलाई सानो ठुलो नमान्ने मानबहादुरले बँदेल पालन सँगै अन्य कृषि कार्यहरू पनि गरिरहेका छन् । फलफूलहरू रोप्ने, माछा पालनका साथै कुखुरा पालन पनि उनले गरिरहेका छन् ।
सरकारसँग सहयोगको अपेक्षा, तर सधैँ उपेक्षा
गुरुङले आफ्नो व्यवसायका लागि विभिन्न निकायसँग सहयोग र सहकार्यका लागि प्रस्ताव गरिरहेका छन् । तर, अहिलेसम्म पनि गुरुङको प्रस्तावलाई कुनै पनि निकायले स्वीकार गरेका छैनन् । उनलाई स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँग व्यवसाय विस्तारका लागि सहयोगको माग गरेको धेरै भइसक्यो । तरपनि सरकारले उनलाई सहयोग गरेको छैन ।
उनले सरकारले अन्य किसानलाई र व्यवसायीलाई अनुदान र सहुलियतमा ऋण दिएको सुनेका छन् । आफूले भने अहिलेसम्म कुनै सहयोग पाएका छैनन् । ‘सरकारले कुनै अनुदान दिएको छैन, सहयोगका लागि भौँतारिएको धेरै भइसक्यो,’ उनले भने, ‘सरकारले हाम्रो कुरा सुनेको छैन ।’
उनले बैङ्कबाट ऋण लिँदा पनि चर्को व्याजको मारमा परेको बताए । उनले बैङ्कले पनि कृषकलाई ब्याजमा लुटिरहेको गुनासो गरे । ‘किसानले सस्तो व्याज त पाउँदैन, अनुदान त झनै पाइँदै पाइँदैन,’ उनले गुनासो गर्दै भने ।
उनले आफू जस्तै किसानले गरेको कामलाई बजारसम्म लैजाने वातावरण बनाइ दिन सरकारसँग माग गरे । गुरुङ किसानलाई आवश्यक पर्ने सर–सामानमा सहुलियत र समय समयमा अनुदानका कार्यक्रम दिए व्यवसाय गर्न सहज हुने बताउँछन् ।
उनले सरकारले देशमै गरिखाने वातावरण बनाइदिए विदेश जान नपर्ने बताए । उनले किसानलाई सहज र सरल तरिकाबाट व्यवसाय र काम गर्ने वातावरण मिलाइदिन सरकारसँग अनुरोध गरे ।
‘आफ्नै गाउँमा किसानी काम गर्छु भन्नेहरूलाई सस्तोमा कर्जा दिनुपर्छ । पशुहरूलाई दिइने दानाको मूल्य कम गरिनुपर्छ । अनुदानका कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘सरकारले कृषकहरूलाई विभिन्न क्षेत्रहरूमा सजिलो र सहज बनाइदिए विदेश कसैले जानु पर्दैन । नेपालमै व्यवसाय गर्ने वातावरण पनि मिल्छ ।’