सभापति कप फुटबलको उपाधि संकटालाई
सङ्कटाका कप्तान दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा संकटा एफसीले आयोजक टिमलाई सडनडेथमा ४-३ ले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । आयोजक टिमका गोलकिपर विशेकले संकटाको सुरुवाती दुई पेनाल्टी प्रहार बचाउँदै सानदार सुरुवात गरेपनि संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरे ।
संकटाका गोलकिपर दिप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार बचाएका थिए । बागमतीका रजत तिवारीको प्रहार पोष्ट भन्दा बाहिर गएको थियो । प्रतियोगिताको विजेताले नगद २६ लाख तथा उप विजेताले १३ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सङ्कटाका कप्तान दीप कार्की घोषित भए । उनले उपाधिसहित रु ७५ हजार पुरस्कार प्राप्त गरे ।
त्यसैगरी प्रतियोगितामा उदीयमान खेलाडीको उपाधि भने बागमतीका सन्दीप कार्कीले पाए । उनले रु २५ हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक बागमतीका विकेश कुथु घोषित भए ।
विजेताहरुलाई नेपाली कांगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबाहदुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।








