उत्पादनमा अनुदान पाउँदा बागलुङका दुग्ध किसान उत्साहित

ढोरपाटन (बागलुङ) । प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो ।

किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए । केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उनले बताए ।

डा सापकोटाका अनुसार बागलुङमा वार्षिक २३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ । विगत चार वर्षदेखि यहाँका किसानलाई अनुदान दिन थालिएको हो । विज्ञ केन्द्रले यहाँका करिब आठ सय किसानलाई अनुदान दिँदै आएको छ ।

‘जिल्लामा धेरै किसानले दूध उत्पादन गर्दै आउनुभएको छ, त्यसमध्ये झन्डै एक सय जनाले व्यावसायिक रूपमै बाह्रै महिना दूध बिक्री गर्नुहुन्छ । पहिले दुई रुपैयाँ दिँदै आएका थियौँ, यस वर्षदेखि पाँच दिन थालिएको छ’ उनले भने ‘यस वर्ष आठ लाख लिटर दूधका लागि रु ४० लाख विनियोजन भएको छ, उक्त रकम किसानको हातहातमा पुग्ने छ ।’

हाल सात वटा सहकारीमार्फत किसानलाई अनुदान दिने गरिएको छ । प्रतिव्यक्ति ९१ लिटर आवश्यक पर्नेमा हाल बागलुङमा त्यसभन्दा बढी दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ ।

काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादन किसान सुरेश कँडेलले राज्यले उत्पादनमा आधारित अनुदान दिँदा आफूजस्ता धेरैलाई काम गर्न उत्साह बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =