कन्यामका घोडचढी व्यवसायी लामा भन्छन्- विदेश जानुपर्ने बाध्यता हट्यो

काठमाडौँ । प्राकृतिक सुन्दरताले भरिपूर्ण इलाम नेपालकै उत्तम पर्यटकीय गन्तव्यमा पर्दछ । ‘पहाडकी रानी’ उपनामले चिनिने यस जिल्लामा बर्सेनि थुप्रै पर्यटकहरू भित्रिने गरेका छन् । यहाँ टाढा टाढाबाट पर्यटकहरू चिया बगान हेर्न आइपुग्छन् ।

पछिल्लो समय इलाममा होटल व्यवसायका साथसाथै घोडचढी व्यवसाय पनि निकै फस्टाउँदै गएको देख्न सकिन्छ ।

इलाम, कन्याम–७ का उर्गेन लामा विगत ७ वर्षदेखि कन्याममा आउने पर्यटकहरूलाई घोडामा चढाएर चिया बगान घुमाउँदै आएका छन् ।

उनले पहिला बुद्धिस्ट धर्म अनुसार खाइबा अर्थात् पेन्टिङ गर्थे । त्यस पेसाबाट उनलाई राम्रै आम्दानी भइरहेको थियो । उनले सो पेसा गरेर नै एक छोरा र श्रीमतीलाई मजाले पालेका थिए ।

उमेर काढ्दै जाँदा उनको आँखा कमजोरी हुन थाल्यो । उनमा रक्तचापको पनि समस्या देखियो । त्यसपछि उनी पेन्टिङ गर्न छाडेर घोडचढी व्यवसायमा आबद्ध हुन पुगे ।

उनी भन्छन् ‘ प्रेसरले गर्दा पनि म घोडाचढी व्यवसायमा आए । पहिले बसेर काम गर्नुपथ्र्यो । अहिले व्यायाम पनि भएको छ । अहिले मलाई प्रेसर छैन ।’

लामाले १० रोपनी जग्गामा चियाखेति पनि गर्दै आएका छन् । कन्याम नजिकै उनको दोकान पनि छ ।

लामाले पेन्टिङ वा बगानको काम गर्नुभन्दा टाढा टाढाबाट आउने पर्यटकहरूलाई घोडा चढाएर बगान घुमाउन पाउँदा आफूलाई एकदमै खुसी लागेको बताए ।

उनी अहिले घोडचढी व्यवसाय संघमा आबद्ध भएर काम गरिरहेका बताए । उनले यस संघमा ३९ जना घोडचढी व्यवसायीहरू आबद्ध रहेको जानकारी दिए । सबैले आफ्नो व्यक्तिगत घोडा ल्याएर पर्यटकहरूलाई बगान घुमाउने गरेको उनले सुनाए ।

भने ‘हाम्रो व्यक्तिगत घोडा हुन्छ, अनि घोडालाई दानापानी, उपचार सबै हामीले नै गर्छौँ ।’

उनले मानिसलाई जस्तै घोडालाई पनि खोरेत, दम, झाडा जस्ता विभिन्न रोगहरूले सताउने बताए । केहिवर्ष अगाडी मात्र आफ्नो एउटा घोडा दमको कारणले गुमाउनु परेको भन्दै उनले दुखेसो पोखे ।

लामाका अनुसार घोडा चढ्दा कुनै दुर्घटना भएमा सबै उपचार संघले नै गरिदिन्छ । उनले जस्तोसुकै दुर्घटना भएपनि ५–१० लाखसम्मको उपचार संघले गरिदिने जानकारी दिए ।

लामाका अनुसार कन्याममा ३९ जना घोडचढी व्यवसायीहरूले सिफ्ट अनुसार बिहान, दिउँसो पालो गरि पर्यटकहरूलाई घोडा चढाएर बगान घुमाउने गरेका छन् ।

‘हाम्रो ३ दिनमा पालो हुन्छ । बिहान, दिउँसो पालो गरि सिफ्ट अनुसार हुन्छ ।’ लामाले भने ।

उनले कन्याममा घुम्न आउने पर्यटकहरूलाई घोडामा चढेर फोटो खिचाए बापत रु ५० शुल्क लिने गरेको बताए ।

चिया बगानको सट राउण्ड लगाउँदा ३ सय र पुरै बगान घुमेको एक हजार, १५ सय, २ हजार र २५ सयसम्म शुल्क लाग्ने उनी बताउँछन् ।

भन्छन् ‘तपाइहरू कतिको दुरीमा घुम्नु हुन्छ, दुरी अनुसार हुन्छ । घोडा चढेर फोटो खिचेको शुल्क ५० रुपैयाँ हो, त्यस्तै सट राउण्ड लगायो भने ३ सय रुपैयाँ पर्छ, पुरै बगान घुम्दा १५ सयदेखि २५ सय सम्म पर्छ ।’

व्यवसायी लामाले आफू यो व्यवसायमा लागेपछि विदेश जानुपर्ने बाध्यता हटेको बताए ।

उनले दिनमा कहिले ३ सय, ५ सय त कहिले २५ सय रुपैयाँसम्म हाजिरा बस्ने गरेको सुनाए ।

उनले भने ‘मान्छे बोक्ने, अनि खातामा पैसा टिप्ने । कतिओटा घोडा छ, दिनभरि बोकेको पैसा कलेक्सन गरेर बाँडिन्छ ।’

व्यवसायी लामाले सबै घोडाले कमाएको पैसालाई खातामा टिपोट गरि सबैमा बराबर बाँडिने बताए ।

उनले नगरपालिकालाई एउटा घोडा बराबर दिनमा ८० रुपियाँ तिर्नुपर्ने सुनाए ।

लामाले घोडचढी व्यवसाय सजिलो भने नरहेको जानकारी दिए ।

उनी भन्छन् ‘बिहान घोडालाई नुहाइदिनु पर्यो, ५, ६ लिटर पानी लाग्छ । दिनमा घोडालाई ४ किलो दाना खुवाउनु पर्छ ।’

उनले समग्रमा यो व्यवसाय राम्रो नै भएको प्रतिक्रिया दिए ।

उनले भविष्यमा कन्याममा एउटा सानो होमस्टे खोलेर पर्यटकहरूलाई सस्तो मूल्यमा खाने, बस्ने र इलाम घुमाउने योजना रहेको बताए ।

उनले टाढा टाढाबाट चियाबारी घुम्न आउने पर्यटकहरूलाई कन्याम आउँदा घोडा चढेर घुम्न अनुरोध गरे । उनले धनीले मात्र घोडा चढ्छन् भन्ने मानसिकता नराख्न आग्रह गरे । उनले सबैले घोडचढीको अनुभव लिनुपर्ने बताए ।

‘पैसा छैन भने ५०, १००, ३००, ५ सय जतिको घुम्दा नि भयो । धनीले मात्रै घुम्नुपर्छ भन्ने छैन । सबैले अनुभव लिनुपर्छ ।’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *