सभापति कपमा संकटा क्लवको सुखद् शुरुवात

काठमाडौं । संकटा क्लवले शुक्रवार चर्च ब्वाइज क्लबमाथि सहज जित निकाल्दै सभापती फुटबल प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइजमाथि ३–० को सहज जित निकालेको हो । संकटाको जितमा अबेक रिचार्डले दुई तथा चन्दन दासले एक गोल गरे ।

संकटाले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल थपेको हो । त्यसअघि संकटाले सुरुआती अग्रता लिएको थियो । २२ औं मिनेटमा अबेक रिचार्डको गोलबाट अग्रता लिएको हो ।

बोटेङ इमान्युलले मध्य भागबाट दिएको पास सदुपयोग गर्दै अबेकले पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै गोल गरेका हुन् । पहिलो हाफमा थप राम्रा अवसर सिर्जना हुन सकेनन् । त्यो गोलले नै संकटाले पहिलो हाफमा १–० को अग्रता बनायो ।

दोस्रो हाफमा पहिलो अवसर सिर्जना हुन ५७ औं मिनेटसम्म कुर्नुप¥यो । चर्च ब्वाइजका अबयोमी ओलुवासिनको खेलमा फर्कन सुन्दर अवसर खेर फाले । राइट साइडबाट आशिष राईको पास नियन्त्रणमा लिएका अबयोमीले संकटाका गोलकिपर दीप कार्कीसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । ६४औं मिनेटमा चर्च ब्वाइजको अर्को प्रयास सफल भएन ।

चर्च ब्वाइजका रोहन कार्कीले लामो सट प्रहार गरे पनि संकटाका गोलकिपर दीप बाधक भए । तर ७० औं मिनेटमा संकटाले अवसर सदुपयोग गर्दै अग्रता दोब्बर बनायो । श्रृजन क्षेत्रीले लेफ्ट साइडबाट उपलब्ध पेनाल्टी बक्समा दिएको बल सदुपयोग गर्दै अबेकले वान टचमा गोल गरे ।

तीन मिनेटपछि नै संकटाले अग्रता ३–० मा पुर्‍याए । चर्च ब्वाइजका गोलकिपर क्रिसल मोक्तानले नियन्त्रणमा लिन नसकेको बललाई संकटाका चन्दन दासले नजिकै दूरीबाट वान टच गरेका हुन् । लेफ्ट साइडबाट श्रृजन क्षेत्रीले गरेको क्रस बल रोक्न क्रममा चर्च ब्वाइजका गोलकिपर क्रिसलले हातबाट फुत्काए ।

लगत्तै पेनाल्टी बक्समा रहेका चन्दनले वान टचमार्फत बललाई जाली चुमाएका हुन् । अतिरिक्त समयमा चर्च ब्वाइजले केही प्रयास गरे पनि सफल भएन । त्यसपछि थप गोल निस्किएन र संकटाले ३–० को जित निकाल्यो । संकटाका अबेक रिचार्ड प्लेअर अफ दी म्याच घोषित भए ।

त्यसअघि प्रतियोगिताको नेपाल सरकारका उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटनले गरेका थिए । यस प्रतियोगितामा एक आयोजकसहित सात वटा ‘ए’ डिभिजन क्लबले प्रतिष्पर्धा गरिरहेका छन् ।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *