सांसदहरूको आरोप- सिमेन्ट उद्योगीहरूले नाजायज काम गरे

काठमाडौँ । सिमेन्ट उद्योगीहरूले निर्माण सिजनको समयमा मूल्य वृद्धि गरेर नाजायज काम गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल निर्माण व्यवसायी महासङ्घसँग गरेको छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन् ।

सांसदहरूले सिमेन्ट उत्पादक उद्योगीहरूले नाजायज रुपमा काट्रेलिङ गरेर मूल्य वृद्धि गरेको आरोप गएका छन् । समितिमा बोल्दै पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले निर्माणको सिजनमा सिमेन्टको मूल्यवृद्धि गरेर व्यवसायीहरूले नाजायज काम गरेको बताए । उनले सिमेन्ट उद्योगीहरूले सिमेन्ट किन्नको एलसी खोलेर बस्दा पनि सिमेन्ट उद्योगीहरूले सिमेन्ट समयमा नदिएको बताए ।

उनले निर्माण व्यवसायीहरूलाई सिमेन्ट उद्योगीहरूले अमानवीय व्यवहार गरिरहेको बताए । उनले नेपाली उद्योगलाई धराशायी बनाउने उद्देश्य नभएको बताए । उनले साउनमा गरेको दर रेटमा टेण्डर भएकाले निर्माण व्यवसायीहरू समस्यामा परेको बताए । उनले सिमेन्ट उद्योगी व्यवसायीहरूले अत्यधिक मूल्य बढाइरहने हो भने निर्यात खोल्न बाध्य हुनुपर्ने अवस्था आउने बताए ।

नेकपा एमालेका सांसद लालप्रसाद सावाँ लिम्बूले नेपालको ३२ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको बताए । उनले नेपालमा १६ करोड बोरा खपत हुने गरेको बताए । उनले सिमेन्ट उद्योगहरूले उत्पादन घटाएर काट्रेलिङ गरी मूल्यवृद्धि गरिरहेको बताए । उनले उद्योगीहरूले उपभोक्तालाई मारमा पर्नेगरी सिमेन्टको मूल्य बढाउन नपाउने बताए । उनले सिमेन्ट उद्योगीहरूले कालोबजारी गरेर सरकारलाई असफल बनाउने काम गरेको आरोप लगाए ।

नेपाली काँग्रेसका सांसद राजु थापाले समितिले निर्माण व्यवसायीहरूको भुक्तानी तत्काल दिलाउन पहल गर्नुपर्ने बताए । उनले सिमेन्ट उद्योगीहरूले कृत्रिम रुपमा मूल्यवृद्धि गरेको बताए । उनले निर्माण व्यवसायीहरू यति बेला ठूलो मारमा रहेकाले सरकारले आवश्यक नीतिगत रुपमा सहजीकरण गर्न आवश्यक रहेको बताए ।

जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले सिमेन्ट उद्योगी,निर्माण व्यवसायी वा सरकारको दोषी हो भन्ने छुट्याउन नसक्ने अवस्थामा रहेको बताइन् । उनले ३२ करोड बोरा सिमेन्ट उत्पादन गरी १६ करोड मुलुकभित्र खपत गरी बाँकी निर्यात गरी आर्थिक उन्नति गरेको अवस्था रहेको बताइन् । उनले अहिले त्यो अवस्था परिवर्तन हुँदा सांसदहरू सशङ्कित भएको बताइन् ।

उनले कालोबजारी व्यवसायीदेखि सरकारसम्म लागेको देखिएको बताइन् । उनले सिमेन्ट उद्योगीहरूले कृत्रिम अभाव गरेको बताइन् । निर्माण व्यवसायीहरूले भनेको कुरा पनि समितिले विश्वास गर्ने वातावरण नभएको भन्दै निर्माण व्यवसायीहरूले पनि विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *