कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरे बल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरे बल पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरे बल पुल निर्माण गरेको हो ।

आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँच मार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए ।

‘चिसोका कारणले रोकिएको पुलको पहुँच मार्ग कालो पत्र गर्ने काम गर्मी सुरु भएपछि हुन्छ,’ उनले भने ‘मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।’

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बिचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा मार्फाखोलामा चैत देखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ ।

पक्की पुल सञ्चालन भएपछि कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए ।

मार्फा खोला र वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ छुसाङको नरसिङखोलामा मोटरे बल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

जोमसोम देखि कागबेनी–छुसाङ –उपल्लो मुस्ताङ हुँदै चिनको सिमाना कोरला नाका जोड्ने सडक अन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरे बल पुल गत भदौमा निर्माण सकिएको थियो ।

कोरोना महामारी, प्रतिकुल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारणले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि सुदिप खड्काले बताए ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ मोटरे बल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँच वटाको ठेक्का तोडेको र पाँच वटा पुल निर्माणको प्रक्रियामा छन् । २०७३/०७४ देखि शुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =