दर्जनौ विधेयकहरु दराजमा थन्किएका छन्,अध्यादेशबाट सरकार चलाउन बन्द गरियोस् : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले दर्जनौ विधेयकहरु दराजमा थन्किएका बताउँदै अध्यादेशबाट सरकार चलाउने कदम बन्द गर्न आग्रह गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो कुरा बताएका हुन् ।
संसद्को झ्याल ढोका बन्द गरेर अध्यादेशबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गर्न उनले सरकारलाई आग्रह गरे । गुरुङले संसद्को हिउँदे अधिवेशन बोलाएर सदनको लोकतान्त्रिक विधिबाट कानुन निर्माण वा संशोधनको काम अगाडि बढाउन सरकारलाई सझाए ।
उनले लेखेका छन्,‘अध्यादेशबाट शासन! ओली नेतृत्वको कंग्रेस-एमाले सरकार, संसद छलेर अध्यादेश मार्फत केहि नेपाल ऐन संशोधन गरी शासन चलाउने अलोकतान्त्रिक मार्ग तर्फ लागिरहेको छ। संसदको हिउदे अधिवेसन बोलाउने समय भैसक्दा पनि अहिले सम्म अधिवेसन आह्वान गरिएको छैन। संसदमा दर्जनौ विधेयकहरु ४ महिना देखि दराजमा थन्किएका छन्। त्यसैले अविलम्व सदन को हिउदे अधिवेसन आह्वान गरियोस्। जे जति ऐन कानुन निर्माण वा सशोधन गर्नु पर्ने छ, ती सबै सदन को लोकतान्त्रिक विधिबाट अगाडि बढाईयोस्। संसदको झ्याल ढोका बन्द गरेर अध्यादेसबाट सरकार चलाउने अलोकतान्त्रिक कदम बन्द गरियोस्।’








