नेपाल स्काउटमा विवाद : प्रहरी पठाइदिन मन्त्री तेजुलाल चौधरीको सिडिओलाई पत्र

काठमाडौं । काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको प्रधान कार्यालय अनाधिकृत मानिसहरुले कब्जा गरेको भन्दै शान्ती सुरक्षाका लागि प्रहरी परिचालन गरिदिन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सचिवालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको छ ।
खेलकुद मन्त्री चौधरीका निजी सचिव जगदीश पराजुलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ऋषिराम तिवारीलाई शान्ती सुरक्षाका लागि प्रहरी परिचालन गराइदिन भन्दै शुक्रवार पत्र पठाएका हुन् ।
मन्त्री चौधरीका निजी सचिव पराजुलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारीलाई सम्बोधन गरी पठाएको पत्रमा भनिएको छ, ‘नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय काठमाडौंका कार्यालय प्रमुख राम प्रसाद भट्टराईले माननीय मन्त्री ज्यूलाई सम्बोधन गरेर दिनुभएको पत्रमा माननीय मन्त्री ज्यूबाट सो पत्रमा उल्लेख भएअनुसार नोपल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा कब्जा गरी बसेका अनाधिकृत मानिसहरुलाई हटाई प्रवेशमा रोक लगाई कार्यालय र कर्मचारीहरुको शान्ती सुरक्षाका लागि तुरुन्त सुरक्षाकर्मीहरु परिचालन गर्न तोक आदेश भएकाले आवश्यक सहजीकरणका लागि सक्कल निवेदन सहित तहाँपठाइएको व्यहोरा अनुरोध छ ।’
नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जितले निर्देशक रामप्रसाद भट्टराईलाई विवादित व्यक्ति स्काउटको निर्देशक जस्तो गरिमामय पदमा रहनु उचित नरहेको भन्दै निलम्बन गरेका थिए ।
आयुक्त रञ्जितले बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्ने गरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले भट्टराईलाई निलम्बन गरिएको बताउँदै उनले भने, अधिकृत स्तरमा दुई जनालाई चार वर्ष र कार्यालय सहयोगीमा एक जनालाई एक वर्ष आफूखुसी नियुक्त गरी नियुक्ति पत्र उपलब्ध गराएले भट्टराई निर्देशक नभएर मनपरी तन्त्र चलाउने व्यक्ति रहेको उनले बताए ।
आफैँले हस्ताक्षर गरी तलबसमेत भुक्तानी दिएको, पटक–पटक कार्यसमितिलाई जानकारी नगराई विदेश जाने तथा विदेश जाँदा आफूले सम्हाली आएको जिम्मेवारी कोही कसैलाई नतोकी भट्टराईले नेपाल स्काउटको प्रशासनिक कार्यलाई आफ्नो हातमा लिएको, राष्ट्रिय परिषद्को हवाला दिई पत्राचार गरेका विषयमा पटक–पटक लिखित जवाफ पेस गर्न समय प्रदान गर्दा अटेर गरेकाले निलम्बन गरिएको जनाइएको छ ।
लिखित जवाफ पेस गर्न दिएको समय भट्टराईले अटेर गरी कार्य समितिप्रति बेवास्ता गरेको, विद्युतीय (इभी) सवारी प्रयोग गरी कार्यालयबाट तेल, मोबिल चालकसमेतको एकमुष्ट तलबमा गाभी मासिक भुक्तानी लिएको नेपाल स्काउटले जनाएको छ ।
यता,युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको सचिवालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको प्रति स्काउटका सदस्यहरूले मन्त्रीले कुरा नबुझी ठाडो हस्तक्षेप गरेको बताएका छन् ।
उनीहरूले युवा तथा खेलकुद मन्त्री जस्तो गरिमामय पदमा बसेर आफ्नो मातहतको संस्थामा के भएको हो भन्ने जानकारी नै नलिई निर्देशक भट्टराईको एकतर्फी कुरा सुनेर सिङ्गो स्काउटको नै चौधारीले खिल्ली उदाएको जनाएका छन् ।









