मानव तस्करीको माध्यम बन्दै नेपाल स्काउट : उत्सवमा लाँदै, नेपालीलाई अवैध रुपमा छाड्दै

काठमाडौँ । सामाजिक हितका लागि सञ्चालित नेपाल स्काउटलाई मानव तस्करीको माध्यम बनाइएको खुलासा भएको छ । प्रत्येक ४ वर्षमा हुने ‘वर्ल्ड स्काउट ज्याम्बुरी’ (विश्व स्काउट उत्सव) कार्यक्रमलाई मानव तस्करी गर्ने माध्यम बनाउने गरिएको पाइएको हो । मकालु खबरलाई प्राप्त प्रमाणअनुसार स्काउट उत्सवमा सहभागी गराउन भन्दै उत्सव आयोजना हुने देशमा नेपालीलाई लैजाने र अवैध रुपमा छोड्ने गरिएको पाइएको छ । स्काउटलाई माध्यम बनाएर सम्बन्धित देशमा पुगेर लुक्नेहरुले त्यहाँ अवैध आप्रवासीका रुपमा रोजगारी गरेर बस्ने गरेको खुलेको हाे ।

प्रमाण अनुसार सन् २०२३ अगष्ट १ देखि १२ सम्म कोरियामा भएको पछिल्लो वर्ल्ड स्काउट ज्याम्बुरीमा सहभागी हुन पुगेका ४ जनालाई कोरिया पुर्‍याएर अवैध रुपमा लुकाइएको पाइएको हो । उक्त कार्यक्रममा भाग लिन १६८ जना नेपाली कोरिया पुगेका थिए । ती मध्ये ५९ जना व्यस्क र १०५ जना स्कुले बालबालिका थिए । व्यस्क मध्ये ४ जना भने कोरियामै अवैध आप्रवासी कामदारका रुपमा लुकेर बसेका हुन् ।

उक्त स्काउट उत्सवलाई माध्यम बनाई कोरिया पुगेर अवैध रोजगारीका लागि लुक्नेहरुमा दोलखा जिल्लास्थित एक विद्यालयका प्रधानाध्यापक सचिन ठोकर, काभ्रेको तेमाल गाउँपालिकाका स्काउट संयोजक पाल्देन तामाङ, कैलालीकी मेघाकुमारी रेउले र ललितपुरकी रसिला राई रहेका छन् । यी मध्ये रसिला राईले रोजगारीका लागि कोरिया जान पटक पटक प्रयास गरे पनि सकेकी थिइनन् ।

वैदेशिक रोजगारीमा जान तथा विदेश भ्रमणमा जान तीव्र चाहना देखाइरहेकाहरुलाई स्काउटको सदस्य बनाउने र स्काउट उत्सवमा सहभागी गराउने भन्दै विदेश लगेर छोड्ने विकृती नेपाल स्काउटमा देखिएको छ । यसमा मोटो रकमको चलखेलसमेत हुने गरेको खुलेको छ ।

खास गरी वर्ल्ड स्काउट ज्याम्बुरीमा सहभागी हुन जानका लागि सम्बन्धित प्रदेश र वडाको सिफारिस चाहिने व्यवस्था छ । त्यस्तै, स्काउटमा बढी योगदान गरेका तथा सक्रिय सदस्य हुनु आवश्यक छ । तर, यी सबै मापदण्डलाई कुल्चिएर नेतृत्वले नाता, कृपा, राजनीतिक आश्था र  पनि भएको स्रोतले बताउँछ ।

उक्त कार्यक्रममा सहभागी हुने भन्दै सम्बन्धित देशमा पुगेर लुक्नेहरुमा ज्यादाजसो नेकपा एमाले निकट व्यक्तिहरु देखिएका छन् । नेपाल स्काउटको नेशनल एक्जुकेटिभ कमिटिका कोअर्डिनेटर तथा नेपाल स्काउटका चिफ कमिस्नर लोकबहादुर भण्डारी हुन् । उनी एमालेमा राजनीति गर्ने शैक्षिक व्यवसायी पनि हुन् ।

नेपालका अधिकांश विद्यालयमा स्काउट गठन भई सञ्चालनमा छन् । तर, कोरियामा भएको उक्त विश्व स्काउट उत्सवमा सामुदायिक विद्यालयका छिटफुटबाहेक सबै विद्यार्थी काठमाडौँ उपत्यकाका निजी विद्यालयका रहेका छन् । सबैभन्दा बढी सेन्ट मेरिज, सेन्ट जेभियर्स, सैनिक विद्यालय पोखरा र जेभियर इन्टरनेशनल विद्यार्थी उक्त कार्यक्रममा सहभागी छन् । यी मध्ये जेभियर इन्टरनेशनल स्कुल स्काउट कोअर्डिनेशन तथा चिफ कमिस्नर भण्डारीले आफ्नै लगानीमा सञ्चालन गरेको निजी विद्यालय हो ।

यसबारे जिज्ञासा राख्दा स्काउट कोअर्डिनेटर भण्डारीले आफू एमालेको कुनै पदमा नरहेको भन्दै झुटो दाबी गरे । तर, उनी नेकपा एमालेको आर्थिक विभागका सदस्यको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । यो प्रकरणबारे मकालु खबरले जिज्ञासा राख्दा आफू संलग्न नभएको भन्दै उनले यसबारे थप कुरा नै गर्न चाहेनन् ।

त्यस्तै, नेपाल स्काउटको राष्ट्रिय मुख्यालयका निर्देशक रामप्रसाद भट्टराईसँग जिज्ञासा राख्दा वर्ल्ड स्काउट ज्याम्बुरीमा कोरिया गएर लुकेकाहरुलाई कारबाही गर्न आफूहरुले अपिल गरेको दाबी गरे । उनले स्काउटको उक्त कार्यक्रमलाई माध्यम बनाएर कोरिया गई लुक्नु विकृति भएको बताए । तर, भट्टराईले लुक्नेहरुलाई कारबाहीका लागि अपिल गरेको दाबी गरे पनि त्यसमा सत्यता देखिँदैन ।

नेपाल स्काउटको संरक्षकमा प्रधानमन्त्री नै रहेका छन् । युवा तथा खेलकुद मन्त्री प्रमुख, युवा तथा खेलकुद सचिव नेपाल स्काउटको राष्ट्रिय परिषद् सदस्य रहने व्यवस्था छ ।

प्रधानमन्त्रीकै संरक्षकत्वमा चलेको सामाजिक संस्था मानव तस्करीको माध्यम बन्दासमेत यसबारे कुनै सक्रिय छानविन भएको देखिएको छैन । यो विषय राष्ट्रकै इज्यत र प्रतिष्ठासँग जोडिएकाले यसले राष्ट्रिय प्रतिष्ठामा समेत आँच पुग्ने देखिएको छ ।

प्रतिक्रिया

4 thoughts on “मानव तस्करीको माध्यम बन्दै नेपाल स्काउट : उत्सवमा लाँदै, नेपालीलाई अवैध रुपमा छाड्दै

  1. पहिलो पटक कुनै मिडियाले भए पनि स्काउटको रबैयाको समाचार लेखेकोमा मनैबाट नमन !
    साच्चै भन्ने हो भने स्काउटको इतिहासमा लोक बहादुर भण्डारी र राम प्रसाद भट्टराई जब सम्म यो सस्थामा रहन्छन् तब सम्म यो सस्था कैले बन्न सक्दैन !
    हामि बिसौ बर्ष देखि आबद्द भएर काम गरिरहेका छौ, हामि जैले छायामा अनि इनिहरु राजनीतिक दलको आडमा येति सम्म गर्छन् नि कुरै नगरौ !
    मकालु खबर ज्यू हामि संग इनिहरुका तमाम फटाइ हरु छन्, हामि तपाइलाई उपलब्ध गराउछौ, कृपया सम्प्रेसन गरिदिनु होला !
    लोकबहादुर अर्हाउने भट्टराई काम गर्ने २ जना मिलेर संस्था धोस्त पारिसके !
    हामित कसैले समाचार लेख्ने हिम्मत गर्दैन भनेर बसेका थियौ तर हाम्रो भनाइ पनि आउने रहेछ !
    धन्यवाद मकालु खबर प्रति !
    हामि बेथिति तपाइलाइ उपलब्ध गराउने छौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *