ज्योति समूह पद्म ज्योति समूहमा रूपान्तरण (भिडिओ)

काठमाडौं । ज्योति समुहलाई पद्म ज्योती समूहमा रुपान्तरण गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरेर ज्योती समुहलाई पद्म ज्योती समूहमा रुपान्तरण गरिएको औपचारिक घोषणा गरिएको हो ।
समुहको विकास र सृजनशीलताको नयाँ यात्रा गर्ने उदेश्यका साथ ज्योति समुहलाई पद्म ज्योती समूहमा रुपान्तरण गरिएको संस्थाले जनाएको छ ।
एक शताब्दी पुरानो इतिहास भएको यो समूह औपचारिक रूपमा अलग भएको हो । सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अन्ततः व्यावसायिक समूह नै विभाजन भएको हो ।
अब दाजुभाइ पद्म ज्योति र रूप ज्योतिले आ–आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् ।
आइतबार पद्म ज्योतिले ज्योती समुहलाई पद्म ज्योति समुहमा रुपान्तरण गरिएको औपचारिक घोषणा गरे । कार्यक्रममा बोल्दै उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना गरिएको बताए ।
उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । उनले सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुहिद ज्योति र आरती ज्योतिलाई सँगै लिएर नयाँ अध्याय सुरु भएको बताए ।
पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ ।
नयाँ व्यावसायिक समूह पद्म ज्योतिले लोगो पनि सार्जननिक गरेको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ ।
समूहका अध्यक्षमा पद्म ज्योति रहनेछन् । पद्मज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स र होन्डा मोटरसाइकल लगायत रहेका छन् ।
समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेको भन्दै दुःख व्यक्त गरे । काकासँगको व्यावसायिक सम्बन्ध बिग्रिए पनि अब यसलाई एउटा सिकाइ र पाठका रूपमा लिएर अगाडि बढ्ने उनले बताए ।
एनले अब व्यवसायलाई नयाँ तरिकाबाट लैजाने र देशको आर्थीक विकासका लागि काम गर्ने बताए । उनले देशको विकास आफ्नो समुहको नयाँ सिद्धान्त रहेको सुनाए ।
देशको पुरानो व्यावसायिक समूह ज्योति ग्रुप देशकै एक अग्रणी र परिचित समूह हो ।








