नेकपा एसको बैठक: ठोस योजना र नेताहरूको जिम्मेवारी बाँडफाँडमा केन्द्रित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज समापन हुँदैछ । पार्टीको बार्षिक कार्ययोजना र नेताहरुको कार्यविभाजनलाई अन्तिम रूप दिएर बैठक सकिन लागेको हो ।

गत बुधबारदेखि सुरु भएको बैठकमा महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको कार्ययोजनाबारे शनिबारसम्म स्थायी समिति सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । आइतबारको बैठकमा अध्यक्ष माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आफ्नो अन्तिम धारणा राख्नेछन् । त्यसपछि नेताहरूको कार्यविभाजन गरी बैठक समाप्त गरिने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् ।

शनिबार धारणा राख्ने नेताहरूमा उपाध्यक्ष जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश बिक, माधव पौडेल, गरिमा शाह, कल्याणी खडका, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, श्रीप्रसाद साह, र भरत श्रेष्ठ रहेका थिए ।

धारणा राख्ने अधिकांश नेताहरूले पार्टीलाई सुदृढ बनाउन सबै नेता(कार्यकर्ताहरूलाई स्पष्ट र उचित जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् । ‘संघर्षबाट पार्टी निर्माण गर्न महासचिवको प्रस्तावमा केन्द्रीत छलफल भएको छ,’ नेता जीवनराम श्रेष्ठले भने, ‘जनता र राष्ट्रका मुद्दा उठाउनु पर्नेमा सबैको साझा सहमति रहेको छ ।’

बैठकले संसद र संविधान संशोधनका विषयमा समेत पार्टीको धारणा तय गर्ने तयारी गरेको छ। ‘अहिलेकै संसदको संरचनाले राष्ट्रिय समस्या समाधान गर्न सक्छ कि सक्दैन ? समाधान नहुने हो भने विकल्प के हुन सक्छ भन्नेबारे पार्टीले स्पष्ट धारणा बनाउनेछ,’ श्रेष्ठले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =