सुरु भयो इट्टाभट्टाका मजदुरहरूको व्यस्त दैनिकी (तस्बिरहरू)
काठमाडौँ । इट्टाभट्टामा काम गर्ने मजदुरहरूको व्यस्त दैनिकी सुरु भएको छ । हिउँद लागेसँगै मजदुरहरू इट्टा बनाउने काममा व्यस्त हुने गर्दछन् ।
यतिबेला इट्टा बनाउनकै देशका विभिन्न स्थानबाट मजदुरहरू उपत्यका भित्रिने गरेका छन् ।
त्यस्तै सिमरा बाराका मजदुर जित बहादुर मोक्तान पनि विगत १३ वर्षदेखि भक्तपुरमा इट्टा बनाउँदै आएका छन् । उनको ६ जनाको परिवार छ । आर्थिक अभावकै कारण उनको छोराले कक्षा ७ मा पढ्दा पढ्दै विद्यालय जान छाडे ।
विगत लामो समयदेखि दुवाकोट, भक्तपुरमा बस्दै इट्टाभट्टामा काम गर्दै आएको उनले बताए । उनले सिजनको बेला इट्टा बनाउने र अन्य समयमा ज्यामी काम गर्ने बताए ।
उनको परिवारले इट्टा बनाउन सुरु गरिसकेका छन् । अब केही दिनमा नै झ्याउली (काँचो इट्टाबाट बनाएको अस्थायी छाप्रो) बनाइने मोक्तानले बताए । यतिबेला उनीहरू जस्तापाताको ओत लागेर बस्दै आएका छन् ।
मोक्तालाई यस्ता कुराको कुनै चिन्ता छैन । उनलाई त बरु काम गर्न नपाउने पो हो कि भन्ने चिन्ता लागेको छ । उनले यस सिजनमा २ महिना मात्रै काम हुने दुखेसो पोखे । उनले भने ‘यसपालि २ महिना मात्र काम हुन्छ रे, ऋण तिर्न मात्रै ठिक्क हुन्छ । फाइदा त हुदैन् ।’
इट्टाभट्टाका अधिकांश मजदुरहरूले बर्खामा काम नहुँदा भट्टा साहुबाट पेस्की लिने गरेका छन् । तर यस वर्ष भने पेस्की पनि कट्ला कि नकट्ला भनेर उनीहरूलाई चिन्ताले सताएको बताए ।