राष्ट्रिय सूचना आयोगद्वारा ९६.०५ प्रतिशत पुनरावेदन फर्छ्यौट

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले स्थापनाकालदेखि ९६.०५ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले स्थापनाकालदेखि हालसम्म १० हजार पाँच सय ९३ पुनरावेदन परेकोमा १० हजार २७४ वटा पुनरावेदनहरू फर्छ्यौट भइसकेको बताएका हुन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै आयोगका प्रमुख सूचना आयुक्त गुरुङले अहिलेसम्म पुनरावेदनका आधारमा निर्देशन दिएपछि पनि सूचना उपलब्ध नगराउने ४४ जना सार्वजनिक निकायहरूलाई कारबाही गरिएको बताए ।

उनकाअनुसार कारबाहीमा पर्नेमा नेपाल सरकारका क वर्गका कार्यकारी अधिकृतहरू, त्रिभुवन विश्व विद्यालयका रजिस्टार, परीक्षा नियन्त्रण कार्यालयका प्रमुख, क्याम्पस प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू रहेका छन् । उनले सूचना दाता संरक्षणसम्बन्धी चार वटा उजुरीमध्ये दुई वटाको पक्षमा फैसला गरिएको समेत बताए ।

उनले भने ‘हामीले सूचनाको हकसम्बन्धमा विभिन्न निकायहरूलाई आदेशहरू दिनसक्छौं । सार्वजनिक निकायहरूलाई सूचना उपलब्ध गराउनका लागि सय किटान गर्ने काम पनि हामीले गर्ने गरेका छौं । आयोग गठन भएको १६ वर्ष पूरा भएर १७ औँ वर्ष चलिरहेको छ । अहिलेसम्म हामी कहाँ १० हजार पाँच सय ९३ पुनरावेदन परेको १० हजार २७४ वटा पुनरावेदनहरू फर्छ्यौट भइसकेका छन् । अर्थात् आयोगमा परेका पुनरावेदनको ९६.५ प्रतिशत पुनरावेदनहरू हामीले फर्छ्यौट गरेको अवस्था छ । सार्वजनिक निकायहरूले सूचना उपलब्ध नगराएको कारणबाट पुनरावेदन परेपछि पनि आयोगले निर्देशन दिएपछि पनि सूचना नदिने सार्वजनिक निकायका ४४ जना प्रमुखहरूलाई कारबाही भइसकेको छ । अहिलेको पाँच वर्षको कार्यकालमा हामीले १७ जनालाई कारबाही गरेका छौं । कारबाहीमा पर्नेमा क वर्गका कार्यकारी अधिकृतहरू, त्रिभुवन विश्व विद्यालयका रजिस्टार, परीक्षा नियन्त्रण कार्यालयका प्रमुख, क्याम्पस प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू छन् । सूचना दाता संरक्षणसम्बन्धी ४ वटा उजुरीहरू परेका थिए । जसमध्ये दुई वटामा पक्षमा फैसला गरेका छौं ।’

सूचना मागकर्ताले सूचनाको उपयोगिताको लागि व्यावसायिकता नखुलाउँदा सार्वजनिक निकायहरूलाई सूचना प्रदान गर्न गाह्रो भइरहेको बताए । उनले सरकारी संयन्त्रकै कमजोरीका कारण नागरिक तहसम्म सूचनाको हक कार्यान्वयन गर्न नसकिएको बताए । नागरिक सचेत भएर सूचना नमाग्दासम्म सरकारी शासन पद्धतिमा नागरिकहरू सहभागी हुने वातावरण नबन्ने उनको भनाइ छ ।

उनले भने ‘सूचना मागकर्ताले व्यवसायीकता नखुलाउने गरेका कारणले सूचना दिन सार्वजनिक निकायहरूलाई चुनौती रहेको छ । हामीले महसुस गरेको सबैभन्दा महत्वपूर्ण कुरा नागरिक तहसम्म सूचना माग गर्ने अधिकार पुर्याउनै सकिएको छैन । जबसम्म नागरिक सचेत भएर सूचना माग्दैनन् तबसम्म सूचनाको हक र नागरिक तहसम्म सरकारी शासन पद्धतिमा नागरिकहरू सहभागी हुने वातावरण बन्दैन । सूचनाको अहिलेसम्म वर्गीकरण हुन सकेको छैन । एउटा सूचना वर्गीकरण गर्ने भनेर कमिटी गरिएको थियो । त्यसले तीन पटक प्रतिवेदन बुझाउँदा पनि कार्यान्वयन भएन ।’

कानुनले समिति सूचनाहरूलाई मात्र गोप्य राख्न भनेपनि गठित समितिले सबै सूचनालाई गोप्य राख्ने बनाइदिएका कारण कार्यान्वयनमा समस्या रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =