१० औं राष्ट्रिय खेलकुद फागुनभित्रै र कर्णालीमै हुन्छ : खेलकुदमन्त्री

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १० औं राष्ट्रिय खेलकुद फागुनभित्रै हुने दाबी गरेका छन् ।

आइतबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सो दाबी गरेका हुन् । उनले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू कर्णालीमै र फागुनभित्रै हुने प्रतिबद्धता जनाए ।

उनले पत्रिकाले लेखेको समाचार हेरेर भ्रममा नपर्न पनि मन्त्री चौधरीले सांसदहरूसँग आग्रह गरे । उनले दसौँ राष्ट्रिय खेलकुद मंसिर २ गतेदेखि तोकिएकोमा भौतिक पूर्वाधारको कमीका कारण सञ्चालन गर्न नसकेको भएपनि अब मिति नसर्ने बताए । प्रदेश सरकारले करोडौँ लगानी गरेर रंगशाला बनाएको भन्दै फागुनमै हुनेमा विश्वस्त हुन आग्रह गरे ।

भौतिक पूर्वाधार करिब सकिएको र अहिले पनि खेलाडीहरूको व्यवस्थापन ठूलो चुनौती रहेको बताए ।

उनले भने ‘कसले भ्रम सिर्जना गरिदियो, कुन पत्रिकाले निकालिदियो, कर्णालीमा खेल हुँदैन, कर्णालीमा यो हुँदैन भनेर । तपाईँहरूले कुन पत्रिकामा पढ्नुभयो, कहाँ पढ्नुभयो । तपाईँहरूले प्रदेश सरकारले करोडौँ लगानी गरेर रंगशाला बनाएको छ । तपाईँहरू ढुक्क हुनुस् । खेलकुद कर्णालीमै हुन्छ, त्यसमा पनि फागुनमै हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु, पत्रिकाले के लेख्छ, के लेख्दैन रु पत्रिकाको पछाडि नगइदिन आग्रह गरेँ । किनभने प्रदेश सरकारले लगानी गरेको ठाउँमा खेल हुन्छ । कर्णालीमै हुन्छ, त्यसमा पनि हाम्रो सोच हन्ड्रेड टेन प्रसेन्ट, फागुनभित्रै हुन्छ । एउटा डेट सकियो अब अर्को डेट परिवर्तन हुनेछैन ।’

मन्त्री चौधरीले देश र युवाहरूको चाहना खेलकुदमा सोचे भन्दा बढी आकर्षण रहेको बताए । सरकारले खेलकुदमा बजेट बढाउन नसके युवाहरूको चाहना पूरा गर्न नसकिने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *