मौरीझैँ मेहनती विजय, मह र घार बेचेर गर्छन् लाखौँ आम्दानी (भिडिओ)
काठमाडौँ । साहसिक पर्यटन ‘ट्रेकिङ’मा अथाह सम्भावना हुँदाहुँदै भक्तपुरका एक युवाले मौरी पालन तथा घार बेचेर राम्रो आम्दानी गरिरहेका छन् ।
भक्तपुर, चाँगुनारायण नगरपालिका–८ जितपुरका विजय केसीले एपिस सेरेना भन्ने लोकल मौरी पालनबाट राम्रो आम्दानी लिइरहेका हुन् । उनी विजय मौरी पालन तथा कृषि फार्मका सञ्चालक तथा टोल विकाश समितिका अध्यक्ष समेत हुन् ।
अहिले केसीले भक्तपुर, काभ्रे र चितवनमा मौरी पालन गर्दै आएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले केसीले एसइई पछि नै पर्यटकको भरिया (पोर्टर) को रूपमा काम सुरु गरेका थिए । उनले पर्यटकहरूसँग कुराकानी गर्दागर्दै अंग्रेजी भाषा पनि सिके । त्यसपछि सहायक गाइडको रूपमा काम गर्न थाले । उनले बिस्तारै पर्यटककै सहयोगमा आफ्नै ट्राभल एजेन्सी खोले ।
त्यसरी नै उनले १२ वर्षसम्म ठमेलमा एजेन्सी चलाए । उनले एजेन्सीबाट राम्रै आम्दानी गरिरहेका थिए । तर कोभिड–१९ पछि व्यवसाय ठप्प भयो ।
उनले भने ‘सुरुमा चैँ म यस फिल्डमा थिइन् । ट्रेकिङ फिल्डमा भएको मान्छे । ट्रेकिङ गर्दा गर्दै कोरोनाको बेलामा ट्रेकिङ व्यवसाय धरासय भयो । त्यसबेला के गर्ने के गर्ने भयो । मौरी पालनमा म त्यो भन्दा अगाडि देखि नै इन्ट्रेसटेट थिए ।’
उनलाई पहिल्यै देखि नै ‘मौरी पालन गर्नुपर्छ’ भन्ने लाग्थ्यो । तर के गर्ने ?, कसरी गर्ने ?, कहिले गर्ने ? भन्ने बारे पत्तो थिएन ।
केसीले युट्युबमा मौरी पालनका थुप्रै भिडिओहरू हेरे । उनले अमेरिकामा बस्दै आएका मौरी पालनसम्बन्धी एक जिज्ञासु काकासँग पनि सल्लाह लिए । ती नै काकाले उनलाई विभिन्न तालिम केन्द्रहरूका बारेमा जानकारी दिएर तालिम लिन सल्लाह दिए । त्यसपछि उनले तालिम लिन सुरु गरे ।
केसीले सुरुमा ५ दिनको तालिम लिए तर मौरी पालन कसरी गर्ने भन्ने कुरामा उनी अझै अलमलमा नै थिए ।
केसी भन्छन् ‘मौरीले टोक्छ भन्ने पनि डर थियो । नयाँ व्यवसायमा लाग्दा समस्या हुने हो कि ?, भोली फेरी के हुने हो ?, व्यवसाय थालेर बिचैमा छाड्दा मान्छेले गिज्याउने पो हो कि ? भन्ने डर थियो ।’
उनले आफूलाई मौरी पालन व्यवसाय सुरु गर्न ५-७ दिन त विचार गर्न मै समय लागेको जानकारी दिए । उनले तालिममा जाँदा ‘मौरी सँगको डर हटाउँछु’ भनेर जवाफ दिएका थिए । त्यसबेला उनको कुरा सुनेर सबै जना हासे । तर अहिले विजय र मैरीको सम्बन्ध अत्यन्तै सुमधुर बनिसकेको छ । अहिले उनी मज्जाले मौरीसँग रमाउन सिकेका छन् ।
केसीले भक्तपुरमा ३ रोपनी र चितवनमा २/३ कठ्ठा जग्गा लिजमा लिएर मौरी पालन गर्दै आएका छन् । उनले किसानहरूको जग्गा भाँडामा लिएर मौरीहरूलाई चरणमा लैजाने गरेका छन् ।
उनले विषादी नहालीकन गरिएको खेती र जङ्गली स्रोतहरू भएको स्थान मौरी चरणका लागि उपयुक्त हुने बताए । उनले फूल, अन्नबालीहरू भएको ठाउँमा मौरी पालन गर्दा धेरै उत्पादन लिन सकिने बताए ।
उनले यस्ता ठाउँहरूमा मौरी पालन गर्दा खेर गएका फूलका रसहरू बटुलेर आम्दानी बढाउन सकिने बताए ।
हाल यस व्यवसायबाट उनका परिवारसहित अन्य १५/२० जना कामदारले रोजगार पाइरहेका छन् । सुरुमा उनले एक गोला मौरीबाट आफ्नो व्यवसाय सुरु गरेका थिए । उनले त्यसलाई बढाउँदै लगे । त्यसपछि पुनः २० गोला मौरी थपे ।
‘अहिले त म आफैँसँग ३०० गोला माहुरी छ । कति गोला माहुरी त बेचिसकियो ।’ केसीले भने ।
केसीले अहिले मह उत्पादनसँगै घार र विभिन्न मौरीसम्बन्धी प्रडक्टहरू बजारमा ल्याएका छन् । केसीले वर्षमा लगभग ४ हजार ४५ सय किलोसम्म मह उत्पादन गर्ने बताए । उनले धेरैजसो मह होलसेलमा पठाइने बताए । रिटेल रेट किलोको हजार रुपियाँ रहेको उनको भनाइ छ ।
केसीले सुरुमा करिब २ लाख लगानी गरेर मौरी पालन सुरु गरेको बताए । उनले सुरुका वर्षहरूमा मुनाफा लिन नसकिए पनि घाटा भने नभएको सुनाए । उनले आफ्नो व्यवसायलाई विस्तार गर्दै जाँदा अहिले राम्रो आम्दानी भइरहेको जानकारी दिए ।
उनले भने ‘सुरुको १–२ वर्ष चैँ मुनाफा लिन सकिएन । त्यो बेला सिक्ने समय भएकाले घाटा थिएन तर नाफा पनि थिएन । मैले मौरी पालनलाई लार्ज स्केलमा लगेपछि चैँ राम्रो संग फाइदा भयो ।’
उनले अबको योजना मौरीको उत्पादनहरू बजारमा ल्याउने रहेको बताए । उनले अहिले बि पोलेन जस्ता बि प्रडक्टहरू उत्पादन गरेको बताए । उनले रोयल जेलीहरू पनि सङ्कलन गरेर बेच्ने गरेको जानकारी दिए । भविष्यमा भ्यानमहरू पनि कलेक्सन गरेर बिक्री गर्ने योजना रहेको उनले बताए । उनले त्यसका लागि मार्केट स्टडी गरिरहेको सुनाए ।
उनले सिजन अनुसार ५/६ सय वटा घारहरू बिक्री हुने बताए ।
उनले भने ‘ एउटा घारलाई मौरीसहित १० हजारमा बेच्थ्यौँ । अहिले चैँ आफ्नै घार उद्योग भएकोले ९ हजारसम्म पनि दिइरहेका छौँ । गुणस्तरीय, मापदण्ड पुरा भएको घारहरू हामीले किसानहरूलाई दिइरहेका छौँ ।’
अहिले विभिन्न गाउँ विकास, नगरपालिका र संस्थाहरूले विजय मौरी पालन तथा कृषि फार्मबाट मौरी पालनका लागि आवश्यक पर्ने टोपी, पन्जा र घारहरू किनेर किसानहरूलाई अनुदानमा दिइरहेका छन् ।
केसीले चावहिलमा भएको तालिम केन्द्रसँग सहकार्य गरेर मौरी पालन सम्बन्धी आधारभूत तालिमहरू दिइरहेका छन् भने प्रत्यक्ष भेट्न आउने किसानहरूलाई पनि यसबारे जानकारी दिने गरेका छन् ।
उनले आफूले दिएको ट्रेनिङबाट धेरै किसानले मौरी पालन गरेर राम्रो आम्दानी लिइरहेको सुनाए । यसका साथै उनले नेपालको विभिन्न स्थानबाट मौरी पालनसम्बन्धी विभिन्न जिज्ञासाहरू आउने र झर्को नमानी त्यसका समाधानहरू आफूले बताइदिने गरेको उनको भनाइ छ ।
मौरी पालन गर्न चाहने किसानहरूलाई सल्लाह
केसीले मौरी पालन गर्न चाहने किसानहरूले नजिकैको तालिम केन्द्रमा गएर जानकारी लिन सकिने बताए । उनले आफू स्वयम पनि यसबारे सल्लाह दिन तत्पर भएको बताए ।
मौरी सय प्रतिशत नै फाइदाजनक किरा भएको उनको भनाइ छ । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मौरीले मानव जातिलाई धेरै सहयोग गरिरहेको भन्दै विज्ञानले पनि मौरी नभएको खण्डमा ३ देखि ४ वर्ष मात्र हाम्रो आयु हुने कुरा प्रमाणित गरिसकेको बताए ।
उनले मौरी पालन गर्ने व्यक्तिले पुण्यको काम गरिरहेको बताए । केसीले यस काममा खुलेर लाग्न किसानहरूलाई अनुरोध गरे । ‘यस क्षेत्रमा मेहनत गरेमा राम्रो आम्दानी गर्नसक्ने वातावरण छ ।’ उनले भने ।
सरकारलाई अनुरोध
केसीले सरकारलाई मौरी सम्बन्धी अनुसन्धान गरिदिन अनुरोध गरेका छन् । उनले बि प्रडक्ट निकाले पनि टेस्ट गर्ने ठाउँ नभएको गुनासो गरे ।
‘अरु देशमा सरकारले नै प्रोपोलिस (मौरीको खोटो) को लागि बेस्ट छ भनेर भनिदिएको छ । प्राकृतिक यत्रो धनी देशमा हाम्रो मह विश्वमै नम्बर १ छ । विदेशमा मानुका हनी यत्रो फेमस छ । के हाम्रो नेपालको मह चैँ फेमस हुँदैन । चिउरीको मह राम्रो हुँदैन ? ’ उनले सरकारलाई प्रश्न गरे ।
उनले एक व्यक्ति वा किसानले कराएर मात्र काम नबन्ने बताए । उनले बि प्रडक्टहरूलाई सरकारले अनुसन्धान गरिदिएर प्रमाणित गरिदियो भने चैँ किसानहरू हौसिला मिल्ने बताए ।
‘अनुसन्धानको पाटोमा चैँ सरकारले सहयोग गरिदियो भने चैँ हामीलाई सपोर्ट हुन्छ ।’ उनले भने ।
मौरी पालन गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू
केसीले मौरी पालन गर्दा आधारभूत तालिम लिनु अत्यावश्यक भएको बताए । उनले उक्त तालिम पश्चात् मौरी पालन गर्ने उचित स्थानको छनोट गर्नुपर्ने बताए । त्यसपछि मात्रै मौरी पालन थाल्नुपर्ने उनको भनाइ छ ।
मौरीमा धेरै रोगहरू लाग्न सक्ने सम्भावना रहेको उनले बताए । उनले वरपरका बालीहरूमा विषादीको प्रयोग गरिएको छ कि छैन भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताए ।
केसीले भने ‘जाडोको समयमा मौरीलाई घारमा कसरी सुरक्षा दिने, गर्मीमा बढी गर्मी भएर घार विभाजन व्यवस्थित राम्ररी नहुँदा मौरी भाग्दिने सम्भावना पनि हुन्छ । त्यसकारणले बेलाबेलामा ९, १० दिनमा निरीक्षण गरिरहनु पर्दछ । यी सबै कुराको ज्ञान भएर पाल्नुभयो भने चैँ एकदमै राम्रो फाइदा छ ।’
मह काढ्ने उपयुक्त सिजन
केसीले फागुनदेखि जेष्ठ महिनासम्म मह उत्पादन गर्ने सबैभन्दा उपयुक्त सिजन भएको बताए । उनले उक्त समयमा धेरै फूलहरू फुल्ने र बिरुवाले पालुवा फेर्ने हुँदा मौरीहरूले धेरै रसहरू बटुलेर मह जम्मा गर्ने बताए ।
उनले कात्तिक महिनामा पनि खेतबारीमा धेरै तोरीहरू फुल्ने हुँदा धेरै मह काढ्न सकिने बताए । उनले मंसिर, पुस, माघ महिनामा चाहिँ पहाडी भेगमा फूलहरू नफुल्ने र मौरीलाई चरणका लागि तराई क्षेत्रमा लगिने बताए ।
उनले भने ‘मंसिर, पुस, माघमा चाहिँ तराई क्षेत्रबाट उत्पादन लिन सकिन्छ । त्यसबेला तराईमा चिउरी हुन्छ, तोरी हुन्छ । वर्षाको समय बाहेक राम्रो वासस्थानबाट मिलाउन सक्यो भने मौरीबाट सधैँ नै राम्रो उत्पादन लिन सकिन्छ ।’
नेपालमा व्यावसायिक रुपमा पालिने मौरीहरू
केसीले नेपालमा २ प्रकारको मौरी पालनको लागि प्राथमिकतामा राखिएको बताए ।
‘एफि सेरेना भन्ने लोकल मौरी । जुन चाहिँ पहाडी एरियामा बढी हुने जातको हो । यो चैँ परापूर्व कालदेखि नै बाउ बाजेहरूले पाल्दै आउनुभएको मौरीको जात हो ।’ केसीले भने ‘अर्को चैँ एपिस मेलिफेरा जातको मौरी । यसलाई युरेपिएन मौरी पनि भनिन्छ । त्यो चैँ वि सं २०५१, ५१ सालमा नेपाल भित्रिएको थियो । त्यस बेलादेखि यो मौरी पालन गर्दै आइरहेको छ । मेलिफेरा जातको मौरीमा चैँ उत्पादन बढी लिन सकिन्छ ।’
उनले अहिले पुत्का मौरी पनि पालन गर्न थालिएको बताए । उनले अहिले यो मौरी धेरैजसो तराई क्षेत्रमा साना साना घारहरू बनाएर पालन गर्न थालिएका बताए । उनले पुत्का मौरीले धेरै मह नदिए पनि सो मौरीको मह महँगोमा बिक्री भइरहेको बताए ।
केसीले भिर मौरीलाई पालौँ भनेर नसकिने तर भिर मौरीको मह भने जम्मा गर्न सकिने बताए ।
मह कति दिनमा तयार हुन्छ ?
केसीका अनुसार सिजनमा यदि राम्रो चरणमा छ भने मौरीले १५-२० दिनमा नै मह काढ्न तयार गरिदिन्छ । मौरीले फूलको रस बटुलेर घारको प्वालमा राखेर सिल गरिदिएपछि मह काढ्न लायक भयो भनेर थाहा पाउन सकिन्छ ।
बजारमा महको माग कस्तो छ ?
केसीका अनुसार बजारमा महको माग राम्रै रहेको छ । उनले आजभन्दा २/४ वर्ष अगाडि इन्डियन मह, खेर जाने डुप्लिकेट अशुद्ध महहरू बजारमा छ्यापछ्याप्ती आएका कारण मौरी पालन गर्ने किसानहरूलाई समस्यामा परेको बताए ।
उनले अहिले सरकारले अलि कढाइ गरेकाले यसमा केही सुधारहरू देखिएको बताए । उनले ग्राहकहरूलाई महका फाइदाहरूका बारेमा अझै बुझाउन सकेमा महको बजार झनै विस्तार हुने बताए ।
नेपालमा मह उत्पादनको सम्भावना कस्तो छ ?
‘नेपाल प्राकृतिक रूपले नै यस्तो धनी ठाउँ हो । यहाँ जे पनि उत्पादन हुन्छ, अन्न देखि महसम्म । नेपालमा मौरी पालनको सम्भावना धेरै छ । धेरै ठाउँमा फूलको रस त्यत्तिकै खेर गइरहेको छ । जुनचाहिँ मौरीले फूलको रसमात्र बटुल्ने हो । मौरीले पराग सेचन गर्दा बालीनालीहरू पनि राम्रो उत्पादन हुन्छ । धेरै सम्भावना भएको ठाउँ हो नेपाल ।’ केसीले भने ।
उनले मौरी पालन गर्नका लागि सरकारले बेलाबेलामा अनुदान र तालिमहरू दिइरहेको बताए ।
कहाँ-कहाँ पुग्छ विजय मह ?
केसीले आफूले उत्पादन गरेको मह स्वदेशदेखि विदेशसम्म पुग्ने गरेको जानकारी दिए । उनले जापान, दुबई, मलेसिया र कतारमा गिफ्टको रुपमा पुग्ने गरेको बताए ।
उनले भने ‘विदेशतिर पनि गएको छ । जापान, दुबई, मलेसिया कतारमा गिफ्टको रुपमा साथीभाइहरू आउँदा पठाइदिनुन भनेर त्यसरी लाने चैँ धेरै छ ।’
याे एपिस सेरेनाकाे मह १००० मा चाहिँ आउदैन किनकि याे पहाडि क्षेत्र मा पाईने शुद्ध प्राकृतिक जडिबुटि हरुकाे फुलबाट सङ्कलित हुन्छ उत्पादन पनि मेलिफेराकाे तुलनामा धेरैनै कम हुन्छ । झन् १८००-२००० हाईटकाे मह राम्रो हुने हुनाले ल्याब टेस्ट का आधारमा मूल्य निर्धारण हुनु पर्ने । यदि तेस्ताे भयमा मेलिफेराकाे मह ५०० तिर आउने छ । दाङ का किसान हरुले बिक्री नभएर २५०/के जि सम्म बिक्री गरेकाे सुन्न पाइएकाे छ । याे माैरी मह बेच्दा मेलिफेरा हाे या सेरेना छुटाउनु राम्रो हुनेछ छुट्टाछुट्टै ट्याग लगाउनु पनि आबश्यक देखिन्छ ।