स्पेनमा मुसलधारे वर्षा र बाढीबाट मारिनेको सङ्ख्या ९५ पुग्यो, राष्ट्रिय शोकको घोषणा

काठमाडौं । स्पेनमा दशकौं यता नदेखिएको भयानक बाढीका कारण हालसम्म कम्तिमा ९५ जनाले ज्यान गुमाएका छन्, भने उद्धार कार्यमा सैनिकहरू अहोरात्र लागेका छन् । बेपत्ता व्यक्तिहरूको यकिन संख्या अज्ञात छ, र मुख्यत: भ्यालेन्सियाका क्षेत्रहरूबाट मृतकहरूको सङ्ख्या बढेको बताइन्छ, जहाँ केही घण्टामा एक वर्षभरको पानी परेको छ ।

मंगलबारको तीव्र वर्षापछि आएको बाढीले पुल र भवनहरू समेत बगाएको थियो, जसले गर्दा मानिसहरू घरका छत र रूखहरूमा चढेर ज्यान बचाउन बाध्य भएका थिए । बाढीको प्रवाहले माटो, भग्नावशेष र गाडीहरू सडकमा छरेको छ, जसका कारण सडक आवागमन ठप्प भएको छ ।

बढ्दो पानीले विद्युत् आपूर्ति समेत बाधित भएपछि धेरै मानिस अन्धकारमा बस्न बाध्य छन् । उस्तै विषम मौसमी अवस्था कायमै रहेका कारण उद्धार कार्यमा चुनौती थपिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोक घोषणा गर्दै बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले बुधबार राष्ट्रलाई सम्बोधन गर्दै नागरिकहरूलाई सचेत रहन आग्रह गर्दै पुनर्स्थापनाको पूर्ण प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘संपूर्ण स्पेन तपाईँहरूसँग दुखित छ… हामी तपाईँहरूलाई यस कठिन घडीमा एक्लो छोड्ने छैनौँ ।’

सरकारले बुधबार तीन दिने शोकको घोषणा गरेको छ । स्पेनको सरकारी मौसम एजेन्सीका अनुसार, भ्यालेन्सियाको नजिक रहेको चीभा नामक नगरमा ८ घण्टाभित्र एक वर्ष बराबरको पानी परेको छ । सेनाका जवान र उद्धारकर्मीहरूले बुधवार बिहानैदेखि घरका छत र कारहरूमा फसेका मानिसहरूको उद्धार गरिरहेका छन् ।

सन् १९७३ यता बाढीले यति ठूलो जनधनको क्षति गरेको यो पहिलो घटना हो, त्यसबेलाको दक्षिणपूर्वी क्षेत्रमा आएको बाढीमा कम्तिमा १५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *