भाइटीकासम्म मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा आजदेखि भाइटीकाको दिनसम्म मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै विभागले आजदेखि १८ गतेसम्म केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको बताएको हो ।
विभागले बुधबार बुलेटिन प्रकाशित गर्दै तिहारको चतुर्दशी (१५ गते),औंसी (१६ गते), प्रतिपदा (१७ गते र द्वितीया अर्थात् भाइटीका (१८ गते) का दिनहरूमा कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको संभावना रहेको जानकारी गराएको हो।
साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने संभावना छ।