ट्रेड युनियनका कारण सय जना कर्मचारीलाई पनि कारबाही गर्न सकिएको छैन : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निजामती सेवा ऐन अन्तर्गत हालसम्म सय जना कर्मचारीहरूलाई पनि कारबाही गर्न नसकिएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले कारबाही गर्नसक्ने प्रावधान भएपनि कार्यालय प्रमुखले कारबाही गर्नसक्ने स्थिति नरहेको बताएका हुन् । उनले निजामती सेवा ऐनले कार्यालय प्रमुखलाई त्यो अधिकार दिएको भएपनि ऐन बनेदेखि हालसम्म कार्यालय प्रमुखले सय जना कर्मचारीलाई पनि सो अनुरूप कारबाही गर्न नसकेको बताए ।
उनले भने – ‘हाम्रोमा सबैभन्दा बढी स्थानीय तहकै उजुरी आएको अवस्था हो । तर जुन खालको क्वालिटीको उजुरी आउनुपर्ने हो त्यो खालको क्वालिटीको उजुरी चाहिँ आएको अवस्था छैन । स्थानीय तहमा अधिकार दिइसकेपछि अहिले आएर त्यो स्थानीय तहमा वडा देखि नै जनताले दुःख पाउने सिलसिला सुरु भएको अवस्था छ । त्यसमा सोच्नुपर्ने अवस्था छ । हिजो जनताले निःशुल्क पाएको सुविधा थियो सिफारिसको । त्यो सिफारिसमा पनि अहिले पैसा तिर्दै गर्दा जनता वाक्क भएको अवस्था छ । तोकिएको भन्दा बढी अप्रत्यक्ष रुपमा पनि पैसा दिनुपर्ने अवस्था छ । योजना खरिदको कुरा पनि छ । त्यसलाई समाउन त हाम्रो ऐनमा केही पनि छैन । त्यसैले ऐन संशोधनको आवश्यक छ । काम नगर्दा, निर्णय नगर्दा, जिम्मेवारी केही पनि नलिदाँखेरी त्यो पद धारण गरेको व्यक्तित्वले निर्णय वर्षौँसम्म नगर्दा पनि ऊ माथि कारबाही नै हुँदैन । नियमन गर्ने निकाय छ । तिनीहरूले पनि गरिदिँदैनन् ।’
त्यसरी कारबाही गरेको अवस्थामा ट्रेड युनियनहरूले कार्यालय प्रमुखलाई कालोमोसो दल्ने तथा भौतिक आक्रमणसम्म गर्ने स्थिति रहेका कारण कार्यालय प्रमुखले त्यसो गर्न नसकेको उनको भनाई छ । उनले सम्बन्धित निकायले कानुनको अक्षरशः परिपालना गरेमा सहज ढंगले काम हुनसक्ने बताए । प्रमुख आयुक्त राईले स्थानीय तहमा निःशुल्क पाउने सुविधामा पनि जनताले पैसा तिर्नुपर्ने अवस्था रहेको भन्दै अख्तियारमा सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित उजुरी आउने बताए । उनले अख्तियारले स्थानीय तह हेर्ने ऐनमा व्यवस्था नभएको भन्दै त्यसको लागि पनि ऐन संशोधन आवश्यक भएको बताए ।
उनले भने ‘निजामती सेवा ऐनमा पनि छ नि त, कुनैपनि जिम्मेवारी पुरा नगर्नेमाथि विभागीय प्रमुखले कारबाही गर्नुपर्ने । कार्यालय प्रमुखले उसलाई विभागीय कारबाही, ग्रेड घटुवा, स्पष्टीकरण सोध्ने । अहिलेसम्म २०४९ सालमा आएको निजामती सेवा ऐन त्यसपछि अहिलेसम्मको अवस्था हेर्नुस्, १०० जना क्रस गर्दैन होला स्पष्टीकरण सोधेको । स्पष्टीकरण सोध्नै सक्दैन ऊ । विभागीय कारबाही गर्नै सक्दैन कार्यालय प्रमुखले । किनभने हामीसँग ट्रेड युनियन छ । ट्रेड युनियनका साथीहरूले आफ्ना मान्छे बनाइहाल्छन् । मेरो मान्छेलाई किन सोधिस् भनेर कार्यालय प्रमुखले कि कालोमोसो खान्छ । कि गालामा चड्काइ खान्छ । कि त्यहाँबाट सरुवा भएर जान्छ । यो खालको परिस्थिति छ । सबैले कानुनको परिपालना गरेको भए यो स्थिति आउँथ्यो कि आउँदैन थ्यो ?’
उनले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्रै नभएको भन्दै सम्बन्धित निकायले सम्बन्धित ऐन, कानुनको परिपालना गरेर काम गरेमा भ्रष्टाचार नहुने बताए ।








