सहकारी छानबिन संसदीय समितिको म्याद थप्ने तयारी

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको म्याद थप गर्ने तयारी गरिएको छ ।
भोली मंगलबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सहकारी छानबिन समितिको म्याद थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारी रहेको संसद सचिवालयले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको छ ।
सुरुमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने तथा सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचि छ ।त्यसपछि समितिको कार्यावधि थप सम्बन्धीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
समितिको म्याद यही भदौ २२ गते सकिँदैछ ।








