सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले सोमबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठूलो शिक्षाका रूपमा लिएको बताइन् ।

नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत उनले बताइन् । “मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माणमा मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरीहार्य रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्ने बताइन् ।

जनप्रतिनिधिलाई समेत जनताको भावना बुझेर अघि बढ्न सुझाव दिँदै पार्टीका प्रतिनिधि र जनप्रतिनिधि मिलेर काम गर्दा झनै राम्रो नतिजा आउने उनले विश्वास व्यक्त गरिन् ।

अब भौतिक पूर्वाधार र मानवीयतालाई जोडेर विकासको अवधारणा ९मोडल०लाई अगाडि बढाउनुपर्ने भण्डारीले बताइन् । “भौतिक पूर्वाधार मात्र होइन, मानवीय विकासका लागि अब शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतालाई समेत अगाडि बढाउनुपर्छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “जनप्रतिनिधिलाई अहिलेसम्म भएको विकासको समीक्षा गरेर अगाडि बढ्न पर्दछ ।”

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले स्थानीय तहले सम्पदा संरक्षणमा अझ बढी भूमिका खेल्नुपर्नेमा जोड दिए ।बूढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले नगरभित्रका सबै सम्पदाको पुनःनिर्माण अन्तिम चरणमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =