कुवापानीको पहिरोले प्रसिद्ध बराह ताल पुनः पुरियो
पर्वत । जलजला गाउँपालिका– २ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल आदीबराह ताल पहिरोका कारण यस वर्ष पनि पुरिएको छ ।
जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । बुधबार बिहान खसेको पहिरो र लेदोले ताल पुरिएको स्थानीयले जानकारी दिएका छन् । उक्त ताल गत वर्षको भदौ अन्तिम साता पहाडबाट झरेको पहिरोले बगरमा परिणत भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशअन्तर्गत ताल संरक्षण तथा विकास प्राधिकरणमार्फत सामान्य मर्मत गरिएको भए पनि पुनः पहिलेकै अवस्थामा पुगेको स्थानीय नविन जिसीले जानकारी दिए ।
अविरल वर्षासँगै बुधबार बिहान पहाडबाट झरेको पहिरोले एक घर जोखिममा परेको छ भने सयौँ रोपनी धान खेतसमेत पुरिएको जलजला वडा नं ४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए । उनले गत वर्षदेखि यस क्षेत्रमा पहिरोले जोखिम बढाएको बताए । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित आदीबराह ताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अंग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता ऐतिहासिक रहेको छ ।
करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको थियो । तालमात्र नभइ त्यसमा रहेको बराह मन्दिरसमेत जोखिमा परेको छ । स्थानीय बासिन्दाका अनुसार नीलो तालको बिचमा बयसको रुखसँगै रहेको बराहको मन्दिर साह्रै नै मनमोहक देखिन्थ्यो ।
स्थानीय थलबहादुर घर्ती क्षेत्रीका अनुसार यो बराह मन्दिर रहेको ताल प्राकृतिक हो । यो मन्दिर स्थापनाको इतिहास खोज्दै जाँदा १२औँ शताब्दीसम्म पुगिन्छ । उनले भने ‘यहाँका घर्ती, क्षेत्रीले इष्टदेवका रूपमा बराह देवताको पूजा गर्दै आएका भए पनि सबै जातजातिले बराह देवताप्रति विश्वास र आस्था राखेर पूजा गर्दछन्, बराहदेवता रहेको तालमा टाढाटाढाबाट सेता जलहाँस उड्दै आएर पौडी खेलेको देख्न पाइन्थ्यो ।’
कुवापानी पहाडबाट यही साउन ६ गतेदेखि लगातार पहिरो बग्दै आएर बाढी पसेपछि ताल कमेरो माटोसहितको लेदोले भरिएको छ । सुन्दर ताल अहिले उराठलाग्दो बगर बनेको स्थानीय नवीन जिसीले जानकारी दिए । प्रत्येक वर्ष जनैपूर्णिमामा आदिबराह ताल मन्दिरमा भव्य पूजासहित मेला लाग्ने गर्दछ । मेला हेर्न र बराह देवताको पूजा गर्नका लागि हजारौँ भक्तजन तथा सर्वसाधारणको भिड लाग्ने गर्दछ ।
तालसँगै रहेको घर्ती क्षेत्रीको बराह मन्दिर दुई वर्ष अघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका थिए । छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि मल्लाज हुँदै करिब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुग्न सकिन्छ । अहिले मोटरबाटोको समेत सुविधा पुगेको छ ।
तालबाट पर्वत, म्याग्दी र बागलुङका विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । यहाँ पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । घर्ती क्षेत्रीको कुलपूजासमेत यही तालको नजिकैमा रहेको मन्दिरमा गरिने भएकाले पनि यहाँ सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेको स्थानीय युवा नविन जिसीले बताए ।
‘छेउमै रहेको ढुङ्गे धारामा पानी सुक्दैन, यहाँका बासिन्दाले यही पानी खाने गर्छन्’ उनले भने ‘तालको बीचमा रहेको मन्दिर र बरको रुखलेसमेत यो ताललाई आकर्षक बनाएको छ, बराह ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्दछ, जलजलाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन, तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो ।’
कुवापानीको पहाड नै चर्किएर झरेको पहिरोले गत वर्ष सात घर विस्थापित बनेका थिए । यो तालसहित ८५ रोपनी क्षेत्रफलमा फैलिएको खेतीयोग्य खेतबारीसमेत बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो जाँदा खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले कुवापानीको पहाडमा पुगेर अध्ययन गरेको थियो ।
विभागका भूगर्भविद् अनिश खनाल, प्राविधिक विराश मल्ल र आइटी इञ्जिनीयर ईश्वर न्यौपानेको तीन सदस्यीय विज्ञ टोलीले बस्तीलाई स्थानान्तरण गर्न सुझाव दिएको थियो ।