प्रधानमन्त्रीको दाबी- शान्ति प्रक्रियामा नेपालले विश्वमै दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले शान्ति प्रक्रियामा हासिल गरेको सफलता दुनियाँका लागि दृष्टान्तयोग्य हुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीको सो दाबी गरेका हुन् । उनले नेपालले शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउनका लागि सबै राजनीतिक दलहरूको सहमतिमा कानुन बनाउने काममा प्राप्त गरेको सफलता द्वन्द्व व्यवस्थापन, शान्ति स्थापना र त्यसलाई दिगो ढंगले कायम राख्न दुनियाँलाई उपयोगी हुनेमा दुबिधा नराख्न पनि आग्रह गरे ।
केही देशहरूमा अलि सुन्दर ढंगले शान्ति प्रक्रियाको काम अघि बढे पनि त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने सवालमा नेपालले प्रस्तुत गरेको दृष्टान्त अरूका लागि पनि अनुकरणीय हुने प्रधानमन्त्री ओलीको भनाई थियो । हाम्रो आफ्नै प्रयासबाट अगाडि बढेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम गरिएको उल्लेख गर्दै उनले त्यो सफलता दुनियाँको लागि नमुनाको रुपमा रहने बताए ।
प्रधानमन्त्री ओलीले कानुन बमोजिम संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने गरी सबै दलको सहमतिमा छिटो भन्दा छिटो आयोग बनाएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सरकारले संविधानको पालना गर्ने कुरामा कुनै कमी नराख्ने पनि बताए ।








