मानवता र सभ्यताको रक्षाका लागि युद्ध अन्त्य गर्न माग गर्दै विरोध प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले विश्वमा जारी युद्ध अन्त्य गर्न आह्वान गर्दै विरोध प्रदर्शन गरेको छ ।
बिहीबार पुल्चोक स्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय अघि उक्त प्रदर्शन गरिएको हो ।
मानव अधिकार तथा शान्ति समाजका प्रदर्शनकारीहरूले एकातिर रुस–युक्रेन युद्ध अर्कोतिर इजरायल–हमास युद्ध लम्बिँदै जानु समग्र विश्व सभ्यताकै लागि खतरा भएको बताएका छन् ।
उनीहरूले पछिल्लो चरणमा पश्चिम एसियामा विकराल स्थिति देखिँदै गएको बताएका छन् । युद्ध विस्तारित हुँदै जाँदा मानवता निरन्तर पराजित भइरहेको बताए । युद्धको निरन्तरता भनेको ध्वंस र विनाशको निरन्तरता भएको उनीहरूको भनाइ छ ।
युद्धको विस्तार भनेको मानवता र सभ्यताकै समाप्तिको दिशामा उन्मुख हुनु हो भन्दै उनीहरूले मानवता र सभ्यताको रक्षाका खातिर युद्ध अन्त्य गर्न माग गरेका छन् । उनीहरूले संयुक्त राष्ट्रसंघले विशेष पहलसहित आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्न भन्दै आग्रह गरेको छ ।
हेर्नुहोस् तस्बिरहरू :