काँग्रेस सांसदहरूलाई प्रश्न

वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम खै ? (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका सांसदहरूले वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नु उपयुक्त हुने धारणा राखेका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै काँग्रेस सांसदहरूले सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर सोही अनुरूप सरकार सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले दुई वा दुई भन्दा बढी दलहरू सम्मिलित सरकारमा न्यूनतम साझा कार्यक्रम आवश्यक हुने भन्दै कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका सह–महामन्त्री तथा सांसद जीवन परियारले सरकारले न्यूनतम साझा कार्यक्रम बनाउने विश्वास व्यक्त गरे ।

‘कुनै पनि सरकार दुई वा दुईभन्दा बढी दलको बनिसकेपछि सरकारको एउटा निश्चित कार्यदिशा हुनुपर्छ,’उनले भने,‘सरकार कसरी अगाडी बढ्ने ? सरकारले के–के कुरालाई प्राथमिकताका साथ अगाडी बढाउने ? र साझा न्यूनतम कार्यक्रम बनाउनु आवश्यक हुन्छ । सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अगाडी बढ्छ भन्ने कुरामा म विश्वस्त छु ।’

उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने विषय मुख्य गरी न्यूनतम साझा कार्यक्रममा उल्लेख हुनुपर्ने बताए । त्यसैगरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि उनले बताए ।

‘नेपाली कांग्रेस र नेकपा(एमाले)का बिचमा सात बुँदे सहमति पनि भएको छ । सहमतिमा आगामी दिनमा कसरी जाने भन्ने कुरा उल्लेख पनि गरिसकेका छौँ । यति बेला नेपाली जनताले सरकारको स्थायित्व खोजेका छन्,’उनले भने,‘र समृद्धिको सपना देखिरहेका छन् । अहिलेको आर्थिक तरलतालाई ठिक ठाउँमा ल्याउन नेपाली कांग्रेस लाग्नु जरुरी छ । अथवा सरकार जानु जरुरी छ । देश विकासका लागि भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने र विकास निर्माणलाई तीव्रता दिने लगायतका काममा यो सरकार विशेष गरी लाग्नुपर्छ ।’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले पनि सरकारको न्यूनतम साझा कार्यक्रम काँग्रेस र एमालेका बिचमा भएको सात बुँदे सहमतिको दिग्दर्शनमा आधारित भएर आउनुपर्ने बताए ।

उनले जनतामा देखिएको निराशा र असन्तुष्टि अराजकतामा परिणत हुन थालिसकेको भन्दै जनतामा आशा जगाउनुपर्ने बताए ।

सरकारले सुशासनमा केन्द्रित भएर न्यूनतम साझा कार्यक्रम बनाउनुपर्ने बताए । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने पनि उनले उल्लेख गरे ।

‘सुशासनमा सम्पूर्ण रूपले केन्द्रित हुनु आवश्यकता छ । आर्थिक विकृतिको सीमा नाघेको स्थिति छ । भ्रष्टाचारले हरेक ठाउँमा जरा गाडेको छ । त्यसलाई निमिट्यान्न गर्नका लागि सरकार लाग्नुपर्छ,’उनले भने,‘चर्चित भ्रष्टाचार काण्डहरूलाई दह्रो मुटु लिएर छानबिन गर्नुपर्छ भन्ने आँट सरकारसँग हुनुपर्छ । आर्थिक क्षेत्रमा सुधार देखाउनुपर्ने छ । यिनै अहिलेको न्यूनतम साझा कार्यक्रमको मुख्य आधार हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

सांसद केसीले आर्थिक क्षेत्र धराशायी भएको भन्दै आर्थिक क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =