सरकारले निजी क्षेत्रको मनोबल बढाउने काम गरिरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताए ।

उनले साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवर्धन गर्ने सरकारको नीति रहेको बताए । उनले यसको निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयहरूमा ध्यान दिनुपर्ने कुराहरूमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने – ‘यो सरकार निजी क्षेत्रको आत्मविश्वास, मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको छ । हामी भर्खर आएका छौँ । आइसकेपछि उत्पादनको अवस्था के छ ? रोजगारीको अवस्था के छ ? व्यवसायीका समस्याहरू के छन् ? तिनलाई हामीले एकपछि अर्को जानकारी लिने, छलफल गर्ने कामहरु गरिरहेका छौँ । हाम्रो कोसिस के छ भने तपाईँहरूलाई उत्साहका साथमा आफ्नो पेसामा, आफ्ना व्यवसायमा, आफ्ना उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्ने कुरामा हाम्रो ध्यान छ । त्यस उद्देश्यले हामी केही न केही गर्छौं । तपाईँहरूको निम्ति अनुकूल परिस्थिति निर्माण गर्ने । खासगरी घरेलु तथा साना उद्योगको महत्त्व के हो भनेदेखि देशका सबै जिल्लामा, सबै पालिकामा यसको बिस्तार छ । यसमा ठूलो संख्यामा रोजगारीमा आबद्ध छन् । अझै यसलाई बिस्तार गर्ने सम्भावना छ । स्वरोजगारीका निम्ति पनि महत्वपूर्ण माध्यम हो । त्यस हिसाबले सरकारले घरेलु तथा साना उद्योगलाई प्रवर्धन गर्ने सरकारको नीति छ । त्यसका निम्ति कानुनका, नियमका, निर्देशिकाका, निर्णयका सन्दर्भमा के–कस्ता कुरामा ध्यान दिनुपर्छ त्यसमा ध्यान दिउँला ।’

उनले घरेलु तथा साना उद्योग व्यवसायीहरूले ऐन, कानुनमा सुधार गर्न चाहेको बुँदाहरूको सम्बन्धमा लिखित रुपमा सुझाव दिन पनि आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *