नयाँ सरकारको स्थायित्वमा नागरिकको आशंका
काठमाडौं । संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धनबाट बनेको नयाँ सरकारको स्थायित्वबारे नागरिकले आशंका व्यक्त गरेका छन् । लामो समयदेखि प्रतिद्वन्द्वीका रूपमा परिचित यी दुई दलबीचको अप्रत्याशित मिलनबाट बनेको सरकारको स्थायित्वबारे आम नागरिकमा आशंका देखिएको हो ।
काँग्रेस र एमालेले असार १७ गते राति सत्ता साझेदारका रूपमा सहमति गरेसँगै नयाँ समीकरण बनेको थियो । जसप्रति आम नागरिक, व्यवसायी, राजनीतिकर्मी, शिक्षक-प्राध्यापकमा केही आशा पलाए पनि केही आशंका व्याप्त छ । कतिपय सरकारमा स्थायित्व कायम हुने र त्यसको परिणाम फलदायी हुनेमा विश्वस्त छन् भने कतिपयले यो गठबन्धनलाई अवसरवादी र अस्थिर भएको टिप्पणी गरेका छन् । विगतमा दुई कम्युनिस्ट पार्टी एक भई सरकारको नेतृत्व गर्दा समेत अपेक्षाकृत विकास नभएका कारण अहिले फरक विचारधारा भएका पार्टीबीचको गठबन्धनबाट खासै अपेक्षा नरहेको आम नागरिकको गुनासो छ ।
मुलुकमा हरेक चारदेखि ६ महिनामा सत्ता समीकरण परिवर्तन हुँदा राजनीतिक अस्थिरता थियो । राजनीतिक स्थायित्वका लागि दुई फरक विचारधारा बोकेका दलहरू एक हुनुपर्ने अवस्था आएको भन्दै काँग्रेस र एमालेले सत्ता सहकार्य गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । अघिल्ला सरकारबाट उद्योगी-व्यवसायीहरूलाई काम गर्ने वातावरण नबनेका कारण नवगठित सरकारले नीतिगत हिसाबले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीको माग छ ।
सरकार बनाउने र भत्काउने भन्दा पनि नवगठित सरकारले आम नागरिकको जीवनस्तर उकास्न लागिपर्नुपर्ने राजनीतिकर्मीको सुझाव छ । जनताको जीवनस्तर उकास्ने विषय भाषणमा मात्र सीमित बनाउनतिर नलाग्न र जनताले पत्याउने गरी काम गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलम बताउँछन् ।
दोस्रो संसदीय निर्वाचनपछि बन्दै गरेको सरकारमध्ये यो चौथो गठबन्धनको हो । यसअघि राजनीतिक दलहरूले सत्ताका लागि हानाथाप गर्दा आम जनताले स्थायी सरकार पाउन सकेका थिएनन् । र अब दुई ठूला दलहरूले सत्ताको बागडोर सम्हाल्दा केही आशा र केही आशंकाको महसुस गरेको प्राध्यापक बताउँछन् । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको राजनीति विषयकी प्राध्यापक इन्दिरा प्रसाईं सैद्धान्तिक हिसाबले वर्तमान सरकार सही ट्र्याकमा आएजस्तो देखिने बताउँछन् ।
राष्ट्रिय हितका लागि भन्दै बनेको गठबन्धनबाट बनेको नयाँ सरकारले आगामी दिनहरूमा कस्तो काम गर्छ । जनताको विश्वास जित्नसक्छ कि, सक्दैन भन्ने कुराले नै यसको भविष्य निर्धारण गर्ने देखिन्छ ।