राष्ट्रिय सभा अध्यक्षको गुनासो : संसद भवन निर्माणमा आधुनिकता देखिएन

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी संघीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका सम्बन्धित पक्षसँगको छलफलमा उनले २१ औ शताब्दीको सन्देश दिनेगरी सो भवन निर्माण गर्नुपर्ने भएकाले त्यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले संसद भवनको निर्माण कार्य आधुनिक नदेखिएको उल्लेख व्यक्त गरे । निर्माण ढिला भएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो । अध्यक्ष दाहालले सो संसद भवनको हलले पनि नयाँ सन्देश दिनुपर्ने भएकाले त्यसमा पनि विचार गर्न सरकारलाई सचेत गराए । उनले संसद भवनमा भोटिङको पनि उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष दाहालले भने, ‘संसद भवन निर्माणमा आधुनिकता देखिएन । हल भित्र पसिसकेपछि माननीयज्यूहरूले अनुभूति गर्नेकुरा देखिएन । हामी २१ औं शताब्दी छौं । हाम्रो संसद भवनले यो खालको सन्देश दिएको छ भन्ने खालको केही छ भने त्यो पनि छलफल गरौं भन्न खोजेको हुँ । मेरो आफ्नो यो भन्ने त भएन अहिले । त्यस्तो केही छ भने अहिले नै त्यो विषयमा पनि छलफल गरौं । पछि भन्नेकुरा त पछुताउने कुरा मात्रै हुन्छ भनेर छलफल गर्न खोजिएको हो । यी विषयमा ध्यान दिइयोस् । अव माननीय उपप्रधानमन्त्रीजी हुनुहुन्छ । यस विषयमा सरकारको गम्भीरतापूर्वक ध्यान जाओस् भन्दाखेरि काम गर्न सजिलो हुन्छ भन्ने लाग्छ ।’

छलफलमा सो भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले सो भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि आफूहरूले ठेकदार कम्पनीलाई ताकेता गरिरहेको जानकारी गराएका थिए ।

उनले हालसम्म सो भवनको भौतिक प्रगति ८१ दशमलव ५ प्रतिशत हासिल भएको उल्लेख गर्दै तोकिएको आगामी चैत्र १८ गतेसम्म सबै काम सम्पन्न हुनेगरी जनशक्ति परिचालन गर्न सम्बन्धित पक्षलाई ताकेता गराउने काम भइरहेको बताए ।

उपमहानिर्देशक महर्जनले भने ‘समग्रता ८१ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गर्न सकेका छौ। । वित्तीय प्रगति हेर्दाखेरि ७० प्रतिशत हुन आउँछ । यो आर्थिक वर्षको प्रगति मात्रै हेर्ने हो भने वित्तीय प्रगति ४५ प्रतिशतबाट सुरु गरेका थियौँ । भौतिक प्रगति ५५ प्रतिशत थियो । ५५ प्रतिशतबाट हामीले ८१ प्रतिशत हासिल गरेका छौं । अव करिब १९ प्रतिशत प्रगति हासिल गर्नका लागि आगामी चैत्र १८ गतेसम्मको हामीसँग समय छ । त्यही अनुसार काम गर्नका लागि जनशक्ति न्यून भएकाले त्यसलाई बढाउन हामीले ठेकदार कम्पनीलाई बारम्बार ताकेता गरिराखेका छौं । ’

२०७६ साल असोज १६ गते करिब ६ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ । थपिएको सो समय भित्र निर्माण कार्य सम्पन्न हुने गरी आफूहरूले ताकेता गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =