कांग्रेस सरकारमा हुँदा समेत मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु त्रुटि : मुस्लिम संघ

काठमाडौँ । नेपाल मुस्लिम संघले वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नगराइएको भन्दै विरोध जनाएको छ ।
सत्तारुढ नेपाली काँग्रेस निकट नेपाल मुस्लिम संघले बुधवार पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस पार्टी पटक–पटक सरकारमा सहभागी हुँदा पनि मुस्लिम समुदायका सांसदहरूलाई मन्त्री नबनाएको भन्दै विरोध जनाएको हो ।
काँग्रेसले मुस्लिम समुदायको सांसदलाई सरकारमा सामेल नगराएर त्रुटि गरेको संघले जनाएको छ । संघले पार्टीले संविधान र पार्टीको विधानलाई समेत कार्यान्वयन नगरेको भन्दै मुस्लिम समुदायलाई पार्टीप्रति आशंका उत्पन्न भएको बताएको छ ।

नेपाल मुस्लिम संघका सभापति अताबुल मन्सुरीले मुस्लिम समुदायका सांसदलाई मन्त्री बनाउन पार्टीको ध्यानाकर्षण गराएको बताए ।
उनले भने- ‘नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न चरणमा पार्टी सरकारमा सामेल हुँदा समेत कुनैपनि मुस्लिम सांसदलाई सरकारमा सामेल नगराउनु आफैँमा त्रुटि छ । नेपालको संविधान बमोजिम राष्ट्रिय सभादेखि सरकारमा मुस्लिमलाई समावेश नगराउनु नेपालको संविधान र पार्टीको विधानलाई पार्टीले कार्यान्वयन नगर्नु/नगराउनुले नेपाली मुस्लिम समुदायमा आशंका उत्पन्न भएको छ ।’
उनले आगामी दिनमा प्रदेश सरकार बनाउँदा मुस्लिम समुदायको बाहुल्यता रहेको प्रदेशहरूमा मुस्लिमहरूलाई प्रतिनिधित्व गराउन संघको माग रहेको पनि जानकारी दिए ।

उनले भने – ‘वर्तमान सरकार मुस्लिम, दलित विहीन निर्माण भयो । यस सम्बन्धमा पार्टी सभापति तथा महामन्त्रीज्यू लगायत पार्टी पङ्क्तिमा विनम्र निवेदन गर्न चाहन्छौँ । केही दिन पछि गठन हुँदै गरेको प्रदेश सरकारहरूमा९कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेश० मुस्लिम समुदायको बाहुल्य रहेको प्रदेशहरूमा गम्भीर ध्यान पुयाृएर प्रदेश सरकारमा मुस्लिम प्रतिनिधित्व गराइएन भने गम्भीर रुपमा पार्टीप्रति सिङ्गो देशको मुस्लिम समुदायले विद्रोह गर्ने गराउने खालको आवाजहरू मुस्लिम संघको ४७ जिल्ला कार्यसमितिबाट आउने गरेकोले पार्टीको जिम्मेवार नेतागणहरूमा जानकारी गराउँछौँ ।’
सभापति मन्सुरीले राज्यका विभिन्न निकायहरूमा नियुक्तिको सिफारिस गर्दा समावेशी सिद्धान्तलाई ध्यानमा राखी मुस्लिम समुदायका क्षमतावान् र दक्ष व्यक्तिहरूलाई समेट्न आग्रह गरिएको पनि बताए । 








