एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्छु : शिक्षामन्त्री

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन् ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

मन्त्री भट्टराईले कार्ययोजनाको अभावमा सो ऐन कार्यान्वयनमा लैजाने काम नभएकाले आफूले त्यसको कार्यान्वयनका लागि कम्तिमा एक महिनाभित्र कार्ययोजना तय गरेर अघि बढ्ने बताइन् ।

अनिवार्य र निशुल्क शिक्षा ऐनको एउटा भावलाई हामीले कार्य प्रारम्भ गर्दा कसरी शुरु गर्ने भन्ने बारेमा पनि हामी छलफल प्रारम्भ गर्दैछौं । त्यसलाई कार्यान्वयन गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग पनि हामी छलफल गर्छांै । र एउटा कम्तिमा १ महिना भित्र हामीले एउटा खाका दिनुपर्छ भन्ने कुरा सोचेका छौं ।

उनले सो ऐन कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि आफूले छलफल गरेर अघि बढ्ने बताइन् । विद्यालय शिक्षा ऐनसँग पनि सो ऐनलाई म्याचिङ गरेर अघि बढाउने मन्त्री भट्टराईको योजना छ ।

उनले शिक्षा प्रणालीमा पुनर्विचार गरेर त्यसलाई नतिजामुखि बनाउने काममा पनि आफू लागिपर्ने बताइन ।

‘आज हामीसँग भएको अघि पनि भनियो–अनिवार्य र निःशुल्क शिक्षा ऐन छ । मैले हिजो मन्त्रालयमा छलफल गर्दा पनि भने–यो ऐनलाई कसरी कार्यान्वयन गर्ने ? भन्ने कुराको खाका अब मन्त्रालयले बनाउनु पर्छ,’उनले भनिन्,‘विद्यालय शिक्षा ऐन बनाउँदा यो ऐनलाई कसरी म्याचिङ गरेर जाने भन्ने कुरामा पनि हामीले छलफल गर्नुपर्छ भन्ने लाग्छ ।’

मन्त्री भट्टराईले एसईईको पूरक परीक्षाको व्यवस्थापनको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको पनि बताइन् ।

मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सांसदहरुले दिएको सुझावलाई आफूले ग्रहण गरेर अघि बढ्ने बताइन् ।

उनले विद्यालय शिक्षा विधेयकसम्बन्धि छलफललाई समय सीमा तोकेर अघि बढाउन पनि संसदीय समितिलाई आग्रह गरिन् ।

‘आज पनि एसईईको कुरा महत्वपूर्ण रुपमा उठेको छ । किनकी नतिजासँग उठेको विषय हो । मलाई के लाग्छ भन्दा एसईईको नतिजा भनेको हाम्रो प्रारम्भदेखिको नै निरन्तरता हो भन्ने लाग्छ,’उनले भनिन्,‘ओभरल आजको हाम्रो शिक्षा प्रणाली छ । त्यसलाई हामीले रिभ्यु गर्न जरुरी छ । त्यसका लागि मैले पाठयक्रम विकास केन्द्र, परीक्षा बोर्ड र मन्त्रालयको टिमसँग पनि छलफल गरेको छु । १५ दिन भित्र नतिजा आउनेगरी अगाडि बढनेछौं । एसर्ईईको पूरक परीक्षाको व्यवस्थापन हाम्रो पहिलो प्राथमिकताको काम हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =