सिमलताल घटना अपडेट : ५० किलोमिटर पश्चिम गोलाघाटमा शव भेटियो

काठमाडौं । चिचवनको भरतपुर महानगरपालिका-२९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ । दुर्घटना स्थल सिमलताल भन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले नदी किनारमा भेटिएको शवको सनाखत हुन बाँकी रहेको बताए । ‘शव देख्दा फ्रेस नै देखिन्छ । दुर्घटनामै परेका यात्रुको हो वा हैन भन्ने कुरा अध्ययन हुँदै छ,’ उनले थपे, ‘शवको सनाखत नभए सम्म यसै भन्न सकिँदैन ।’
गोलाघाटमा भेटिएको शव घोप्टो अवस्थामा बालुवामा आधा पुरिएको अवस्थामा भेटिएको हो । अहिले घटना स्थल मुचुल्का उठाएर शव भरतपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार पनि बिहानै देखी जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दिनदेखि खोजी कार्य जारी राखेको हो ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेका छन् । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३-००६ ख-१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइ रहेको हो ।








