यिनै हुन् काठमाडौंबाट KTM DUKE चोर्ने तीन युवक (पूरा विवरण)

काठमाडौँको मित्रनगर र नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई बुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका ४ झुरझुरे घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने २७ वर्षीय आशाराम थिङ, सल्यानको शारदा नगरपालिका ५ घर भई काठमाडौंको जरङखु बस्ने १९ वर्षीय राहुल सिंह ठकुरी र काठमाडौँको बालाजुका आशिष गहतराजलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४८ प ५३ ५३ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई मोटरसाइकलसहित काठमाडौंको मित्रनगरमा ट्राफिक प्रहरीले फेला पारेको थियो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८२ ८२ नम्बरको KTM DUKE मोटरसाइकल काठमाडौँको बौद्धबाट हराएको भनी समन बास्ताकोटीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
त्यस्तै, बागमती प्रदेश ०२-०४५ प ८३ २० नम्बर राखी चलाइरहेको अवस्थामा ठकुरीलाई मोटरसाइकलसहित बुधबार काठमाडौंको नेपालटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका ठकुरीलाई सोधपुछ गर्दा उक्त मोटरसाइकल आशिष गहतराज मार्फत झापाका सन्तोष लिम्बु संग किनेको भन्ने खुल्न आएको हुँदा गहतराजलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०४२ प ४९ ७७ नम्बरको KTM DUKE मोटरसाइकल काठमाडौँको कलंकी स्थित खसिबजारबाट हराएको भनी निश्चल श्रेष्ठले खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका थिङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज, ठकुरी र गहतराजलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ भने सन्तोष लिम्बुको खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।








