पूर्वसांसदहरूलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छ : सांसद ढकाल

काठमाडौँ । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले सो माग गरेका हुन् । औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको भनाई थियो । उनले पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गरेकाले उनीहरूको पनि स्वास्थ्य सुरक्षाका लागि सरकारले केही राहत दिँदा फरक नपर्ने बताए ।

सांसद ढकालले भने ‘हामीले ६६ औं संसद दिवस मनायौँ । पूर्वसांसद मञ्च र संघीय संसदको संयुक्त आयोजनामा यो मनाइएको हो । पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गर्नुभएको छ । र उहाँहरुले केही मागहरू पनि राख्नुभएको छ । त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरूमा पूर्वसांसदहरु जो आफैँ औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न । उहाँहरूका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद ढकालले पूर्वसांसदहरुले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =